जनकपुरधाम, १७ वैशाख । जनकपुरधामको भानु चोकमा आइतबार पनि प्रदर्शन भएको छ । जनकपुरधाम उपमहानगरपालिकाले भानु चोकमा आदिकवि भानुभक्त आचार्यको शालिक राख्ने तयारी गरेपछि मधेशकेन्द्रित दलले निरन्तर विरोध गर्दै आएका छन् ।
आइतबार साँझ पनि मधेशकेन्द्रित दलका नेता तथा कार्यकर्ताहरूले भानु चोकमा जनकपुरधामका मेयर मनोजकुमार साहविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले मेयर साहको तस्बिर जलाउनुका साथै टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरूले यो चोकमा पहिलो मधेश विद्रोहका प्रथम शहीद रमेश महतोको शालिक राख्नुपर्ने अडान राख्दै आएका छन् ।
प्रदर्शनमा सहभागीहरूले मेयर साहविरुद्ध नाराबाजी पनि गरेका थिए । विगतमा भानुभक्तको शालिक रहेकोमा मधेश आन्दोलनको भावनाविपरीत पुनः भानुभक्तकै शालिक राख्न लागेकोमा मधेशकेन्द्रित दलको आपत्ति छ । मधेश आन्दोलनका बेला भानुभक्तको शालिक भत्काएर आन्दोलनकारीले स्मारकलाई रमेश महतो नामाकरण गरिदिएका थिए ।
यसअघि विवाद र तनावका बीच मेयर साहले शनिबार भानुभक्त स्मारकको शिलान्यास गरेका थिए ।