मोरङ, १५ वैशाख । नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै नागरिकताविहीनहरूले रिले अनशन सुरु गरेको छ । नागरिकता पीडित संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीसहित नागरिकताविहीनहरूले शुक्रबारबाट विराटनगरमा जिल्ला प्रशासन कार्यालय अगाडि रिले अनशन सुरु गरेका हुन् ।
अमन वर्मा, किसन अग्रवाल, सीता दास, राधा पटेललगायत अनशनमा बसेका छन् । यसअघि बिहीबार नागरिकताविहीनहरूले झापा विर्तामोडको मुक्तिचौकमा प्रदर्शन गरेका थिए । उनीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरिदिएको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुपर्ने माग राखेका छन् । राष्ट्रपति कार्यालयमा रहेको यो विधेयक निष्कृय नभएको उनीहरूको जिकिर छ । निष्कृय नभएको विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण हुनुपर्ने उनीहरूको भनाइ छ ।
नागरिकताविहीन हुँदा लाखौँ युवा समस्या भोग्दै आएको भन्दै तत्काल नागरिकतासम्बन्धी समस्या समाधान गर्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन् । यसअघि, उनीहरूले गृहमन्त्रालयलगायत विभिन्न सरोकारबाला निकायलाई पहलकदमीका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
बुधबार मात्र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता विधेयक संसदमा पेश गर्न लागेको जानकारी दिनुभएको थियो । उहाँले पुरानो विधेयकलाई प्रमाणीकरण गर्न कानुनअनुसार नमिल्ने भएकाले नयाँ विधेयक ल्याउने तयारी गरेको बताउनुभएको थियो । संघर्ष समितिले भने दुई–दुई पटक संघीय संसदले पारित गरिसकेको विधेयकलाई नै प्रमाणीकरण गर्नुपर्ने माग गर्दै आएका छन् ।