सामाजिक फिड-
जनकपुरधाम, बैशाख १४ गते ।
महोत्तरीमा ससुराली पक्षले ज्वाइँको हत्या प्रयास गरेको घटना सार्वजनिक भएको छ । महोत्तरीको सोनमा गाउँपालिका ४ का २८ वर्षीय सन्तोष झाको हत्या प्रयास भएको हो ।
बोलाएपछि गत चैत २२ गते दिउँसो ससुराली घर महोत्तरीकै सोनामा गाउँपालिका १ पुगेका सन्तोषलाई ससुरा हिरण ठाकुर, सासु नगिना ठाकुर, सालो धर्मेन्द्र ठाकुर, ससुरा पर्ने घनश्याम ठाकुर लगायतले टाउकोमा ठोस् बस्तु प्रहार तथा घाँटी च्यापेर हत्या प्रयास गरेको सन्तोषका परिवारजनले जनाएको छ ।
मरासन्न हुने गरी आक्रमण गरेर सन्तोषलाई लुकाउने प्रयास गरेपछि स्थानीयले उनको घरमा फोन गरेर जानकारी गराएका थिए । टाउकोको खप्पल फुटेर रक्ताम्य तथा घाँटी कसेर बेहोस् भएको अवस्थामा उद्धार गरेर अस्पताल भर्ना गराएको सन्तोषका दिदी रुवी झाले बताइन् ।
‘ससुरा पक्ष आफ्नो हिसाबले मारेर नै फालदिएका थिए । स्थानीयले देखेपछि हामीलाई खबर गर्यो । नत्र मरेपछि लास नै गायब गर्थे होला’ रुवीले भनिन् ‘उपचारको लागि ल्याएर सिटी स्क्यान गराउँदा टाउकोको खप्पर टुक्राटुक्रा भइसकेको थियो । धन्न डाक्रहरुले समयमै टाउकोको शल्यक्रिया गरी खप्प्पर जोडेर ज्यान जोगाए ।’
सन्तोषलाई प्रादेशिक अस्पताल र त्यसपछि जनकपुरकै न्यूरो हस्पिटलमा उपचार गरिएको थियो । १५ दिन उपचार पश्चात सन्तोष डिस्चार्ज भएका छन् । उनको दुबै हातखुट्टा चल्दैन ।
घटनापछि फरार रहेका ससुरा हिरण र सासु नगिनालाई दुईदिन पश्चात प्रहरीले पक्राउ गरेको थियो । सासु ससुरामाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए । घटनामा संलग्न सालो धर्र्मेन्द्र र ससुरा पर्ने घनश्याम फरार रहेका छन् । दुबैजनको खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । सन्तोषका परिवारजनले चारजना माथि ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गराएका छन् ।
घरायसी विवादमा ज्यान लिने प्रयास घटना भएको सन्तोषले बताए । उनले घटनामा आफ्नी श्रीमती सरिता ठाकुरको समेत संलग्नता रहेको बताउँदै घटनामा संलग्न रहेकहरुमाथि कडा कारबाहीको माग सन्तोषले गरेका छन् । सन्तोषको एक अढाई वर्षे छोरा छन् ।