सामाजिक फिड-
जनकपुरधाम,चैत १५ गते ।
सप्तरीमा बीमाको रकम पाउन आफ्नै पतिको हत्या गरेको रहस्य खुलेको छ । कञ्चनरुप नगरपालिका–३ दास टोलकी ३० वर्षीया कोशिला देवी दासले आफ्नै पति ३७ वर्षीय शिवशंकर दासको हत्या गरेको प्रहरीले जनाएको छ ।
कोशिलाले आफ्नी देउरानी हिरनदेवी दास र नातामा भाउजु पर्ने शान्तिदेवी दासको सहयोगमा श्रीमान शिवशंकरको हत्या गरेको खुलेको ईलाका प्रहरी कार्यालय कंचनरुपका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
गत कात्तिक ६ गते आफ्नै घरभित्र करेन्ट लागेर शिवशंकरको मृत्यु भएको थियो । अनुसन्धान गर्दा पाँच महिनापछि शिवशंकरको करेन्ट लागेर नभई करेन्ट लगाएर हत्या गरिएको खुलेको प्रहरी नायव उपरीक्षक रायले बताए ।
प्रहरी नायव उपरीक्षक रायका अनुसार पक्राउ परेकाहरुले दिएको बयान अनुसार ऋणको रकम चुक्ता गर्न सो घटना घटाएको हो ।
उनले भने, ‘शिव शंकर र कोशिलादेवीले छोरीको विवाह गर्न र बीमा गराउनका लागि भाउजु नाता पर्ने शान्तीदेवीसँग ऋण लिएको थियो, ऋण चुक्ता गर्न शान्तीदेवीले कोशिला र शिवशंकरलाई तनाव दिँदै आएकी थिइन् ।’
शिवशंकर र कोशिलादेवीले ऋण तिर्न असमर्थता देखाउन थालेपछि शान्तीदेवीले नै हत्या गर्न सुझाएको तथा हत्यापछि आउने बीमा रकमबाट ऋण चुक्ता भएर अरु रकम बाँकी रहने भन्दै योजना तयार पारेकी थिइन् ।
योजनाअनुसार कात्तिक ५ गते शान्तीदेवीले शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर घरतर्फ पठाएकी थिइन् ।
मातेर घर पुगेका शिवशंकर भान्सा कोठामै सुतेपछि सुतेकै बेला कोशिलादेवीले शिवशंकरको बायाँ हातको साहिँली औंलामा तार बेरेर करेन्ट लगाइ हत्या गरेको वयान दिएकी प्रहरी नायव उपरीक्षक रायले जानकारी दिए ।
हत्यापछि कोशिलाले आफ्नो पति शिवशंकरको करेन्ट लागेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेपछि शंकाका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।