सामाजिक फिड-
जनकपुरधाम, चैत १५ गते ।
आज जनकपुरधामसहित देशैभर चैती दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । आजको दिन जनकपुरधामको राजदेवी मन्दिरसहित देशभरका शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको भीड लागेको छ ।
वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।
संस्कृतिविदहरुका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्रमात्र छन् । आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्तप्रायः छन् । तर यी सबै दशैंहरूको आ–आफ्नै विशेषताहरू छन् । यी दशैंहरुमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने भिन्दाभिन्दै रहेको संस्कृतिविद् विनोदराज शर्मा बताउँछन् ।
अहिले पनि सात्विक पञ्चबली मानेर कुभिण्डोलाई राँगाको प्रतीक, बिमिरोलाई बोकाको प्रतीक, उखुलाई कुखुराको प्रतीक, अदुवालाई हाँसको प्रतीक र मुलालाई भेँडाको प्रतीकको रूपमा देवीदूर्गालाई चढाउने गरिन्छ ।