Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, चैत ६ गते ।

बाराको क्षेत्र नं. २ प्रतिनिधिसभाबाट निर्वाचित जसपा नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि त्यहाँ दलहरुले कसलाई उम्मेदबार बनाउने तयारबी थालेका छन् । सप्तरी क्षेत्र नं. २ मा दोब्बर बढी मतले पराजित जसपा अध्यक्ष उपेन्द्र यादव उप निर्वाचनबाट सांसद छिर्न रामसहायलाई उपराष्ट्रपति बनाएको चर्चा छँदै छ । अब बारा २ खाली भएपछि वैशाख १० गते उपनिर्वाचन हुने भएको हो । बारा २ बाट उप निर्वाचन लड्ने उपेन्द्र यादवको तयारी छ । यता जनमत पार्टीले समेत त्यहाँ प्रभावशाली उम्मेदवार खडा गर्ने तयारी थालेको छ । उपेन्द्र गठबन्धनबाट साँझा उम्मेदवार बन्ने रणनीतिमा छन् ।
जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बारा–२ मा आफ्नो पार्टीबाट उम्मेदवारी पर्ने बताए ।

‘गठबन्धन सरकार बनाउनका लागि बनेको हो, चुनाव गराउनका लागि होइन, गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गर्न लाग्दा हामीले पनि आफ्नो कुरा राख्नेछौं । हाम्रो दलका लागि सहमति नभए पनि उम्मेदवार उठाउँछौं ।’ उनले भने ।

उपनिर्वाचनमा पनि जनमत पार्टीले आफ्नो उम्मेदवार उठाउने उनको भनाइ छ । क्षेत्रमा पकड भएको नेतालाई उम्मेदवार बनाउने गरी जनमतले तयारी गरिरहेको छ ।

जनमत पार्टीले बुधवार बारामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । काँग्रेस, जसपा, लोसपालगायत केही नेता तथा कार्यकर्ताहरू जनमतमा प्रवेश गर्न लागेको स्रोतले जनाएको छ । बुधवार पार्टी प्रवेश गर्ने नेतामध्ये एक जनालाई उम्मेदवार बनाउने जनमत पार्टीका एक नेताले बताए ।

बारा २ मा यादव उम्मेदवार भएमा लोसपा, नागरिक उन्मुक्ति पार्टीलगायतका दलसँग छुट्टै चुनावी गठबन्धन गरिने जनमत पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *