२३ फाल्गुन, जनकपुरधाम। मिथिला नाट्यकला परिषद् (मिनाप)ले जनकपुरधाममा प्रत्येक वर्ष होली पर्वको अवसरमा दोश्रो दिन महामूर्ख सम्मेलनको आयोजना गर्दछ। मिनापले यस वर्षको होरी महोत्सव सोमबार आयोजना गरेकोमा महामूर्ख सम्मेलन आज दिउँसो जानकी मन्दिरको प्राङ्गणमा आयोजना गरिएको छ। मिनापका महासचिव शैलेन्द्र मल्लिकले यसको जानकारी दिए।
पहिलो दिन होरी महोत्सवमा डम्फा वादन र उद्घाटन, होलीमाथि विशेष चर्चा परिचर्चा, मिनापद्वारा होरी गायन, निश्चित मापदण्ड अनुसार होरैया टिमद्वारा होरी गायन, उत्कृष्टताको चयनसँगै पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रमको पहिलो दिन होरी महोत्सवमा संचालक कुल ८ टिमहरू भाग लिएका थिए। जनकपुरधाम–२३ लादोबेलाको गोविन्द सेवा समिति होरैया समूह प्रथम, मंगलपुर दोस्रो र गिद्धा तेस्रो भएका थिए। उनीहरूलाई ट्रफी, डम्फा सहित सम्मान गरिएको थियो।
कार्यक्रमको दोस्रो दिन आज विशिष्ट शैलीमा उद्घाटन, मिनापको हास्य शैलीको व्यंग्यपूर्ण नाट्य प्रस्तुति, मिनापद्वारा होरी गायन, हास्य कवि गोष्ठी, सम्मान, मूर्ख एवं महामूर्खको उपाधि वितरणका साथै मूर्ख र महामूर्खलाई सम्मान तथा प्रेमोपहार वितरण गरिने महासचिव मल्लिकले बताए।
मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष महामूर्खसहित १५ जनालाई १५ वटा पदवी प्रदान गर्दै आइरहेको छ । त्यसमध्ये सबभन्दा बढी चासोका साथ महामूर्खको उपाधिलाई हेरिन्छ । सोहीअनुरूप यसवर्ष पनि यस पदवीका लागि विभिन्न आकांक्षीको नाम चर्चामा रहेको छ ।
मिनापका महासचिव मल्लिकले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहमध्ये कुनै एकजनालाई यसवर्ष महामूर्खको उपाधि प्रदान गरिने जानकारी दिए।