Samajik Feed – News Portal from Nepal

१९ फाल्गुन, जनकपुरधाम। क्याम्बोडियाका सबैभन्दा मुख्य विपक्षी नेतालाई देशद्रोहको अभियोगमा २७ वर्ष घरमै नजरबन्दमा रहनु पर्ने सजाय सुनाइएको छ।हाल भङ्ग गरिएको क्याम्बोडियन न्याश्नल रेस्क्यू पार्टीका भूतपूर्व नेता केम सोखालाई निर्वाचनहरूमा खडा हुन र मतदान गर्न समेत प्रतिबन्ध लगाइएको छ।

उनलाई प्रधानमन्त्री हुन सेनको सरकारलाई अपदस्थ गर्ने प्रयासमा विदेशी शक्तिहरूसँग मिलेर षडयन्त्र गरेको आरोप लगाइएको थियो।

हुन सेन सन् १९८५ देखि सत्तामा छन् र उनी संसारका सबैभन्दा लामो समयसम्म शासन चलाइरहने तानाशाही शासकका रूपमा चिनिन्छन्।

हुन सेन फेरि उम्मेदवार?

क्याम्बोडियामा आउँदो जुलाई महिनामा आम चुनाव हुँदै छ। धेरैको अनुमानमा हुन सेन यो निर्वाचनमा पनि उठ्ने छन्।

तर केही मानिस उनले आफ्ना जेठा छोरा हुन मानेटलाई सत्ता हस्तान्तरण गर्ने योजना बनाइरहेको हुन सक्ने विश्वास गर्छन्।

उमेरले ६९ वर्षका नेता केम सोखालाई सन् २०१७ मा पहिलोपल्ट पक्राउ गरिएको थियो।

उनलाई सन् २०१३ को एउटा भिडिओको आधारमा गिरफ्तार गरिएको थियो जुन भिडिओमा उनले आफूलाई अमेरिकास्थित प्रजातन्त्र समर्थक समूहहरूको समर्थन रहेको बताएका थिए।

उनी र उनका वकिलहरूले उनी विरुद्धका अभियोगहरू अस्वीकार गरेका छन् र ती आरोपहरू आधारहीन भएको उनीहरूको दाबी छ।

क्याम्बोडियाका लागि अमेरिकी राजदूत डब्ल्यु प्याट्रिक मर्फीले शुक्रवार बोल्दै उक्त घटना अन्यायपूर्ण रहेको टिप्पणी गरेका छन्।

केम सोखाका वकिल आङ उडोमले उनको कानुनी टोलीले त्यस्तो फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका रोएटर्स समाचार एजेन्सीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *