१७ फाल्गुन, जनकपुरधाम। प्रदेश १ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा एमालेले संयुक्त रूपमा प्रदेशको नाम ´काेशी प्रदेश` राख्नका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्।
काेशी प्रदेश नामकरणका लागि दर्ता गरिएकाे प्रस्तावमा एमालेका प्रदेश सांसद रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी र एमालेका निरन राई समर्थक रहेका छन् ।
प्रदेश १ का सभामुख बाबुराम गाैतमले प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ताका लागि आह्वान गरेका छन्। प्रदेश नामकरणका लागि एक जना प्रदेश सांसदकाे प्रस्तावमा दुई जना सांसदले समर्थन गरेकाे प्रस्ताव प्रदेशसभा सचिव गाेपालप्रसाद पराजुलीसमक्ष दर्ता गराउनुपर्ने प्रदेशसभा नियमावलीमा व्यवस्था रहेको छ।
सभामुख गाैतमले दिउँसाे १ बजेसम्मका लागि नामकरण प्रस्ताव सचिवालयमा दर्ता गराउन प्रदेश सांसदलाई समय दिएका हुन् । पहिलाे प्रदेशसभाले थाति राखेर गएकाे प्रदेश १ काे नामकरण बुधबार बस्ने प्रदेशसभामा प्रस्ताव गरेर पारित गर्ने कार्यसूची सार्वजनिक गरिएकाे छ ।
प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरुले नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम नामकरण प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था रहेको छ।
६ वटा प्रदेशले अघिल्लो कार्यालयमै नामकरण गरे पनि प्रदेश १ ले नाम राख्न नसकेकोमा आलोचना खेप्दै आएको र प्रदेशसभाकाे नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुईतिहाई सांसदकाे समर्थन हुनुपर्ने संवैधानिक व्यबस्था छ ।
प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।