१७ फाल्गुन, जनकपुरधाम। सप्तरीमा ट्यांकरमा लोड रहेको डिजेल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका एक जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ भने अन्य दुई जना धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
सोमबार जिल्ला अदालत सप्तरीले तेल चोरी प्रकरणका एक जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाएको र चोरीको डिजेल किन्ने व्यक्ति र ट्यांकर चालकलाई धरौटीमा रिहा गरेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।
जिल्ला अदालत सप्तरीले कञ्चनरुप नगरपालिका–९ बस्ने २९ वर्षीय नवराज भुजेललाई पुर्पक्षका लागि थुनामा पठाएको हो। भुजेलले ट्यांकरबाट डिजेल चोरी गरेर बेचेको आरोप छ।
यस्तै, चोरीको डिजेल किनेको आरोप लागेका खडक नगरपालिका–७ का भण्डार आयल स्टोरका सञ्चालक ३५ वर्षीय श्यामकुमार साहलाई ५ लाख धरौटी र ट्यांकर चालक कञ्चनरुप–९ का ४५ वर्षीय विनोदकुमार भुजेललाई एक लाख धरौटीमा रिहा गरिएको प्रवक्ता सिंहले जानकारी दिए।
गत माघ ११ गते नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज डिपोबाट को १ ख ३६५५ नम्बरको टयाङ्करमा २० हजार लिटर डिजेल लोड गरी नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय विराटनगर पठाएकोमा बाटोबाटै ट्यांकर चोरी भएको थियो।