१५ फाल्गुन, जनकपुरधाम। मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ दिवसीय माध्यमिकी परिक्रमा आज कञ्चनवन आइपुग्दै छ । ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा आज महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरी स्थित कञ्चनवन आइपुग्न लागेको हो ।
कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको छ। स्वागतको लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको छ । तीर्थालुको लागि पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्था छ भन होली मिलन समारोह र सांस्कृतिक कार्यक्रम गर्न मञ्च तयार गरिएको छ ।
कञ्चनवनमा त्रेतायुगमा भगवान राम र सीताले रंग अविर खोलेर होली मनाएको धार्मिक विश्वास छ । आजको दिन पनि यहाँ आउने श्रद्धालुहरुले एक–अर्कालाई रंग, अविर लगाएर होली खेल्ने गर्दछन् ।
धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट शुरु भएको परिक्रमा आठौं दिन कञ्चनवन पुगेर होली खेल्ने र रात्रि विश्रा्राम गर्ने गर्दछन् ।
वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट शुरू हुने यो महाकुम्भ १५ दिनमा जनकपुरधाम पुगेर फागु पूर्णिमाको दिन परिक्रमा सम्पन्न गरिने परम्परा छ ।