Samajik Feed – News Portal from Nepal

८ गल्गुन, जनकपुरधाम। नेपाल सरकारलाई भारत सरकारले दुई सय वटा मिर्गौला डायलाईसिस मेसिन सहयोग स्वरुप उपलब्ध गराएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले सो मेसिन हस्तान्तरण गरेका छन् ।

एक वर्षअघि नेपाल सरकारले भारत सरकार समक्ष सो मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो । समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले सो मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे । उक्त अवसरमा उनले २०७२ सालमा गएको विनाशकारी भूकम्प र कोभिड संकटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोग नेपाल राष्ट्र र नेपाली जनताले सदास्मरण गरिरहने उल्लेख गरे ।

मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदै आएको ऐतिहासिक तथ्यलाई भूल्न नसकिने पनि बताएका हुन्।

उनले भने, ‘दुई मुलुकबीच आर्थिक, सामाजिक सबै रुपले घनिष्ट सम्बन्ध छ । यो हाम्रो ऐतिहासिक पक्ष हो । भूकम्प र कोभिडको समयमा पनि भारत सरकारबाट जुन खालको सहयोग भयो त्यो अत्यन्तै उल्लेखनीय छ, महत्वपूर्ण छ । यो कुरा नेपाली जनताले सधैंभरी सम्झनयोग्य रहने छ। म यसका लागि भारतीय राजदुतावासमार्फत् भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिन चाहन्छु साथै कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु । स्वास्थ्य क्षेत्रमा पनि थप सहकार्य गरेर अघि बढने विश्वास दिलाउन चाहन्छु ।’

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई सो मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिवद्धता समेत व्यक्त गरेका हुन्।

नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने उनको भनाई थियो । राजदूत श्रीवास्तवले भने, ‘करिव एक वर्ष अघि नेपाल सरकारको तर्फबाट २ सय मृर्गौला डायलाईसिस मेशिनका लागि भारत सरकारलाई अनुरोध गरिएको थियो । सोही अनुसार मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ । हामी नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि सहयोग गर्नेछौं ।’

नेपालको विकासको सबै क्षेत्रमा भारत सरकार सदैव मिलेर काम गर्दै आएको उनले बताएका हुन् । नेपालको ट्रमा सेन्टर निर्माण, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा सहयोग भारत सरकारले गरेको छ ।

भूकम्पका बेला १३२ वटा हेल्थ पोष्ट निर्माणमा पनि भारतले सहयोग गरेको छ । कोभिड भ्याक्सिनमा पनि भारतले नेपाललाई सहयोग गरेको छ । भारत सरकारको तर्फबाट एक असल छिमेकीको तर्फबाट नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकासका लागि सधैं अग्रसर रहनेछ ।’

भारतले कोभिड संकटका बेला मात्रै पनि १३२ वटा हेल्थ पोष्ट निर्माणमा आर्थिक सहयोग तथा कोभिड भ्याक्सिनसहितका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *