७ फाल्गुन, जनकपुरधाम। मिथिलाको महाकुम्भ मानिने १५ दिने पदयात्रा, मिथिला मध्यमा परिक्रमा भोलीदेखि सुरु हुने भएको छ।
सोमबार धनुषाको मिथिला विहारी नगरपालिका कचुरीस्थित मठबाट डोला निस्केसँगै मिथिला मध्यमा परिक्रमा सुरु हुनेछ ।
जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गरिन्छ। मिथिला महात्मा अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख गरिएको छ।
नेपालकै सबैभन्दा लामो १५ दिने पदयात्रा मिथिला मध्यमा परिक्रमाको क्रममा नेपाल र भारतका विभिन्न स्थानमा श्रद्धालुहरु पुग्ने गर्छन्। सोमबार कचुरीबाट निस्केको परिक्रमाका यात्रु साँझसम्म जनकपुरधामको हनुमाननगरमा पुगी विश्राम गर्नेछन्।
फागुन शुक्ल औंसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर मंगलबार भारतको कल्याणेश्वर जानेछ। हनुमानगढीबाट निस्केपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात हुन्छ।
नेपालको धार्मिक ऐतिहासिक ठाउँहरुको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी जम्मा १३३ किलोमिटर भूभागको पदयात्रा गर्नेछ। जसलाई मिथिला मध्यमा परिक्रमा भन्ने गरिन्छ। पछिल्लो दुई वर्षदेखि कोरोना भाइरसको कारण मिथिला मध्यमा परिक्रमा प्रभावित हुँदै आएको थियो।
मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्नेछ।
पुनः भारतको करुणा, विशौल लगायतका धार्मिक स्थल हुँदै १४ औं दिनमा जनकपुरधाम फर्कनेछ। १५ औँ दिनमा अर्थात् फागु पुर्णिमाको दिन यात्रीहरु जनकपुरधामको परिक्रमा गरि मिथिलामा होलीको सुरुवात हुने मान्यता छ।