३ फाल्गुन, जनकपुरधाम। नेप्से परिसूचक निरन्तर ओरालो लाग्दै पुनः २१०० विन्दुभन्दा तल झरेको छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पछि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ।
गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको थियो भने सोपश्चात बजार खुलेका दिनहरुमा तीन कारोबार दिन नै नेप्से ओरालो लागेको छ।
बुधबार नेप्से परिसूचक १३.९० अंक घटेर २०९१.५६ विन्दुमा घटेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ इण्डेक्स ०.७६ अंक झरेको छ।
यस दिन २५६ स्टकको ३३ हजार ४८३ पटकको कारोबारमा १ अर्ब ७३ करोड २५ लाख ७५ हजार रुपैयाँ बराबरको ४८ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। कारोबार रकमका आधारमा यस दिन अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको थियो। कम्पनीको यस दिन ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण काबेली पावरको करिब साढे ५ करोडको शेयर कारोबार भएको छ भने एनआईसी एशिया बैंकको साढे ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
यस दिन युनिलिभर नेपालको शेयरमूल्य सर्वाधिक ८.५४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विजय लघुवित्त र महुली लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
१३ उपसमूहमध्ये यस दिन पनि उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.९० प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२४ प्रतिशत घटेको छ। त्यस्तै, अन्य र जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।