१९ माघ, जनकपुरधाम। सर्लाहीमा बुधबार छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा एक बालकसहित दुईजनाको मृत्यु भएका छन्। सर्लाहीको बरहथवा नगरपालिका १६ सितापुरकटानी स्थित शिव ईटा उधोगमै रहेको प्र २–०३–००१ त ६५५५नम्बरको ट्याक्टरको ठक्करबाट त्यहाँ काम गर्ने भारत उतर प्रदेश राज्य महमदी ग्राम शंकर छाउनी १ बस्ने संजिव कुमारका ६ वर्षीय छोरा हेमन्त कुमारको मृत्यु भएको छ ।
बुधबार साँझ ठक्करलागेर गम्भीर घाइते बालकको हरिवन स्थित लिलावती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए।
ट्रयाक्टर इलाका प्रहरी कार्यालय मुर्तियाको नियन्त्रणमा रहेको र ट्रयाक्टर चालक फरार भएकाले खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छन् ।
यस्तै बोलेरोले मोटरसाइकलमा ठक्कर दिँदा लालबन्दी नगरपालिका १७ रानीगंज डाडाटोलका ३३ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो। बुधबार दिउँसो रानिगंज डाडाटोल स्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश २–०३००१ च ३१२९ नम्बरको बोलेरोले विपरीत दिशाबाट आइरहेको प्र २–०२–००२ प ९२५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते मोटरसाइकल चालक महतोको मोडल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।