१८ पुष, जनकपुरधाम। काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ट्रिपल अन्डरग्राउन्ड पार्किङ निर्माणको प्रक्रिया अघि बढाएपछि महानगरको आलोचना भएको छ। देशका ठूलठूला ‘राजनीतिक घटनाको साक्षी’ खुलामञ्चलाई खुला नै राख्नुपर्ने मागसहित ‘अकुपाई टुँडिखेल’सहित भिभिन्न अभियान चलिरहेका छन्।
महानगरले सवारी पार्किङको समस्या समाधानका लागि भन्दै खुलामञ्चमा पार्किङ बनाउन लागेको हो। तर, सवारी पार्किङको विकल्पको रूपमा खुलामञ्चलाई उपयोग गर्नु गलत रहेको अकुपाई टुँडिखेल अभियानको भनाइ छ। टुँडिखेलको अभिन्न अंगको रूपमा रहेको खुलामञ्चलाई संरक्षण र सम्बर्द्धन गर्नुपर्ने अकुपाई टुँडिखेलका संयोजक विजय श्रेष्ठले बताउँछन्।
उनले खुलामञ्च भूमिगत जल भण्डारको पुनर्भरणको श्रोत, महाङकाल, दुई माजु, गुरु मापा जस्ता कैयौँ मूर्त अमूर्त सांस्कृतिक सम्पदाको स्थल भएको बताए। “ऐतिहासिक तथा राजनैतिक परिवर्तनको साक्षी हो, खुल्लामञ्च। खुला मञ्चलाई खुला नै रहनदिनुपर्छ,” विजय श्रेष्ठ।