१८ पौष, जनकपुरधाम। बारामा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ परेको युवक भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला बस्ने ४० वर्षीय चन्दन कुमार रहेको सशस्त्र प्रहरीले जानकारी गराएको छ।
सीमावर्ती नाका गुलरियाबाट आइतबार साँझ उनलाई एक थान पेस्तोल, म्याग्जिन र ७ राउन्ड गोलीसहित पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेडक्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिएका हुन् ।
दाहिने कम्मरमा होस्टाइल भित्र मोडल नं २०२२ आर एफ आई लेखिएको ३ राउण्ड गोली लोड भएको पेस्तोल बरामद भएको उनले बताएका हुन् ।
त्यसैगरि चन्दनको आफ्नो, पत्नीको र दाइको भारतीय आधार कार्ड, ११ हजार २ सय ७० भारतीय रूपैयाँ र मोबाइल सेट समेत सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ।
बरामद गरिएको सामाग्री सहित चन्दनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएका छन् ।