१८ पुष, जनकपुरधाम। इतिहासकार तथा सांस्कृतिक विज्ञ ज्ञानमणी नेपाललाई सन् २०२२ को लागि ‘राष्ट्रिय धरोहर सम्मान’ प्रदान गरिएको छ ।राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आज यहाँ दशौं अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस समारोहमा नेपाललाई उक्त सम्मान प्रदान गरेको छ । नेपाली राष्ट्रिय पोशाक, राष्ट्रिय झण्डालगायत राष्ट्रिय पहिचानको संरक्षणका लागि लामो समयदेखि वकालत गर्दै आएको नेपाललाई ११ हजार १११ नगद पुरस्कारले सम्मान गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेवाङले प्रधानमन्त्री पुष्पकमल दाहालले सपथ ग्रहण समारोहमा राष्ट्रिय पोशाक ‘दौरा सुरुवाल’ लगाउनु राष्ट्रिय पोशाक अभियानको उपलब्धि मध्येको एक भएको बताए। नेपाल र नेपालीको पहिचान बोकेको र पोशाकको विशिष्टतालाई ध्यानमा राखी विदेशमा कार्यक्रममा सहभागी हुने जो कोहीले पनि राष्ट्रिय पोशाक लगाएको पाइएमा नेपाली नै हो।
उनले संविधानसभाले सूर्य र चन्द्रमासहितको नेपालको झण्डालाई अनुमोदन गरेको र सूर्य र चन्द्रमा आकाशमा रहेसम्म नेपालको सार्वभौमसत्ता रहिरहने प्रतीकात्मक अर्थ रहेको स्मरण गराए।