Samajik Feed – News Portal from Nepal

१३ पुष, जनकपुरधाम। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुष २५ गते दिउँसो १ बजे संसदको दुवै सदनको नयाँ अधिवेशन आह्वान गरेकी छन्। संसद सचिवालयले सूचना जारी गर्दै सबै सांसदलाई संसद भवन बानेश्वरमा उपस्थित हुन आग्रह गरेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सभासदहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउदै सभामुख निर्वाचित नभएसम्म सदनको बैठकको अध्यक्षता गर्नेछन्।

संविधानको धारा ९१ (१) बमोजिम प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन हुनुपर्ने व्यवस्था छ । सभामुख र उपसभामुखको निर्वाचन कहिले गर्ने भन्ने सर्वदलीय बैठकले निर्णय गर्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

संविधानले सभामुख र उपसभामुख विभिन्न राजनीतिक दलको हुनुपर्ने र तीमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था गरेको छ । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले पहिलो दिन सरकार गठनसम्बन्धी राष्ट्रपतिको सन्देश दुवै सदनमा पढेर सुनाइने बताए।

पाण्डेयका अनुसार दुवै सदनले आ–आफ्ना कारबाही र व्यवसाय सञ्चालन गर्न नयाँ नियमावली चाहिन्छ वा विद्यमान नियमावलीलाई परिमार्जन गर्नुपर्ने वा नयाँ नियमावली नबनेसम्म अन्तरिम नियमावली चाहिन्छ भन्ने कुरामा पनि आह्वान गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *