Samajik Feed – News Portal from Nepal

१२ पौष, जनकपुरधाम। उत्तरी अमेरिकामा बढेको जाडोले ५६ जनाको मृत्यु भएको छ र चिसो सिरेटोसँगै हिमपात हुँदा जनजीवन नराम्रोसँग प्रभावित भएका छन्। चिसोका कारण न्यूयोर्कमा पनि २८ जनाको ज्यान गएको छ।
सरकारी अधिकारीहरुले अत्यावश्यक नपरी घर बाहिर ननिस्किन सुझाव दिएका छन् । यद्यपि एरी काउन्टीमा १२ जना मानिसहरु घरभित्रै र गाडीभित्रै मृत फेला परेका थिए ।

त्यसै गरि ओन्टारियो, मोन्टाना, क्युबेक, भर्मन्ट, ओहायो, मिजुरी, विस्कन्सिन, क्यान्सस, कोलोराडो लगायतका क्षेत्रहरु नराम्रोसँग प्रभावित भएका छन् । मोन्टानामा न्युनतम तापक्रम माइनस ४५ डिग्री सेल्सियस मापन भएको छ ।
बीबीसीका अनुसार हिमपात क्यानडादेखि मेक्सिकोको सिमानासम्म फैलिएको छ । क्यानडाको कोलम्बिया प्रान्तमा बरफ जमेको सडकमा बस चिप्लिएर दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका छन्।

हिउँले सडकहरु अवरुद्ध छन् भने सयौं उडानहरु रद्द गरिएको छ । क्रिसमस चाडको बेला भएको हिमपात र जाडोले मानिसहरुको दैनिकी जीवन प्रभावित भएका छन् । आफन्तसँगै बसेर चाड मनाउने योजना पनि हवाई र स्थल यातायातका साधन नचल्दा प्रभावित देखिएको छ।

केही स्थानमा विद्युत आपूर्ति पनि बन्द भएको देखिएको छ । यद्यपि धेरैजसो स्थानमा विद्युत आपूर्ति सुरु भइसकेको समाचार सार्वजनिक भएको छ साथै १७ लाख मानिसहरु बिजुली विना बस्न बाध्य भए पनि अहिले त्यो संख्या घटेर २ लाखमा झरेको बताइएको छ।

मौसमविदहरुले हिमपात र चिसो केही दिनमा कम हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *