११ पुष, जनकपुरधाम। गर्भवतीले सेवन गर्ने खानेकुरा, गर्ने व्यवहार, भोग्ने दिनचर्या, सोच्ने शैली सबैको प्रभाव गर्भको बच्चामा पर्छ । त्यसैले जब गर्भ रहन्छ, खानपान र जीवनशैलीमा सतर्कता अपनाउनै पर्छ ।
गर्भावस्थामा स्वस्थ र सन्तुलित खानपान गर्नुपर्छ । गर्भावस्थामा मदिरा सेवन गर्नु हुँदैन । गर्भावस्थामा आमाले खाने खानेकुराले गर्भको बच्चाको विकासमा प्रभाव पार्छ ।
गर्भावस्थामा मदिरापान गर्दा गर्भको बच्चामा प्रत्यक्ष असर गर्छ । यो बेला आमाबाट सालमार्फत बच्चाले जति पनि पौष्टिक तत्त्व पाउनुपर्ने हो मदिरापान गर्ने आमाबाट त्यति पौष्टिक तत्त्व प्राप्त गर्न सक्दैन । मदिरापानले सालको नलीलाई साँघुरो बनाउँछ । जसले गर्दा सालमार्फत बच्चामा अक्सिजन, पौष्टिक तत्त्वहरू पुग्न पाउँदैन र बच्चाको विकास राम्ररी हुन पाउँदैन ।
गर्भावस्थामा मदिरापान गर्दा बच्चाको शारीरिक तथा मानसिक विकास राम्ररी नहुने, समयभन्दा अगाडि नै बच्चा डेलिभरी हुने जस्ता समस्या देखा पर्छन् । कुनै बच्चाको टाउको ठूलो र शरीर चाहिं सानो हुने समस्या पनि हुन्छ ।
गर्भावस्थामा रक्सी पटक्कै नपिएको राम्रो हो । यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा असर गर्न सक्ने भएकाले रक्सी, चुरोट नपिउनु नै उचित हुन्छ ।