११ पुष, जनकपुरधाम। चिकित्सकका अनुसार जाडोयाम सुरु हुनासाथ मस्तिष्क रक्तश्रावको घटना ह्वात्तै बढ्छ। यो नियमितजसो भइरहेको ठूलो दुर्घटना नै हो। सुन्दा सामान्य लाग्ने तर डरलाग्दो विवरण छ, मस्तिष्क रक्तश्राव (ब्रेन ह्यामरेज)को।

चिकित्सकहरु भन्छन्, ‘जाडो बढ्नासाथ धमाधम मस्तिष्क रक्तश्राव भएकाहरु अस्पताल आइरहेका छन् ।’ ऊहाहरुको अनुसार यो याममा अन्य बेलाभन्दा पाँच गुणा बढी मस्तिष्क रक्तश्रावको समस्या देखिने गरिएको छ ।
मस्तिष्क रक्तश्रावको धेरैजसो घटना शौचालयमा हुने गरेको पाइएको छ । दिसा वा पिसाब गर्ने क्रममा धेरैको मस्तिष्क रक्तश्राव हुने गरेको छ चिकित्सकहरुको भनाइ आनुसार। खासगरी दिसा पिसाब गर्दा मान्छेले बल गर्छन् । यसरी बल गर्ने क्रममा त्यसको चाप मस्तिष्कको नसामा पर्न जान्छ । यस्तो चाप थेग्न नसक्दा नसा फुट्छ र रक्तश्राव हुन्छ । जब मस्तिष्कमा रक्तश्राव हुन्छ त्यसको असर निकै घातक हुनसक्छ । ‘मस्तिष्कमा रगत बग्न थालेपछिको स्थिति निकै जटिल हो । खासगरी ४० वर्ष उमेरमाथिका व्यक्ति यस किसिमको जोखिममा छन् ।
रक्सी पिउनेहरुमा मस्तिष्क रक्तश्राव हुने जोखिम उच्च हुन्छ । कतिपयले जाडोमा न्यानो हुन्छ भन्ने भ्रम पालेर रक्सी पिउने गर्छन् । त्यसमाथि उच्च रक्तचाप वा मुटुको समस्या भएका, मदिरा पिउने व्यक्तिको नसा कमजोर भइसकेको हुन्छ । चिसो मौसममा शरीर अन्य बेलाजस्तो लचिलो भइरहेको हुँदैन । जब रक्सी पिउँछन् त्यसले ह्वात्तै रक्तचाप बढाइदिन्छ र नसा फुट्ने भय हुन्छ ।
डा. झाका अनुसार मस्तिष्क लचकदार एवं खुम्चन सक्ने प्रकृतिको हुन्छ । यो दहीजस्तो जमेको स्थितिमा हुन्छ । जब मस्तिष्कमा रक्तश्राव हुन्छ, तब त्यसले मस्तिष्कलाई खुम्चिन र फैलन दिंदैन । रगत तरल अवस्थामा भए पनि बाहिर बगेपछि यो ठोस हुन्छ । यसले मस्तिष्कलाई दबाब दिन थाल्छ । जति धेरै रक्तश्राव हुन्छ, उत्ति नै बढी जोखिम हुन्छ । र, कतिपय अवस्थामा मस्तिष्क रक्तश्रावले तुरुन्तै मान्छेको मृत्यु हुन सक्छ ।
मस्तिष्कमा रक्तश्राव हुनासाथ सास फेर्न कठिन हुने र पक्षघात हुन सक्छ। मस्तिष्कघात हुने अवस्था दुई किसिमको हुन्छ, मस्तिष्क रक्तश्राव भएर हुने र मस्तिष्कमा रगत आपूर्ति नभएर हुने । मस्तिष्कमा रगत जाने नली सुक्यो वा बन्द भयो भने यस्तो समस्या हुन्छ ।
‘मस्तिष्क रक्तश्राव भएका १० प्रतिशत बिरामीको मृत्यु हुन सक्छ भने पक्षघात हुने जोखिम ७० प्रतिशत हुनसक्छ,’ डाभन्छन् ।
मस्तिष्क रक्तश्राव कति भएको छ त्यही अनुरुप उनको उपचार कति सम्भव छ वा छैन भन्ने टुंगो लाग्छ । ‘पाँच एमएल मात्र रक्तश्राव भएको छ भने उपचारपछि त्यसको नतिजा सकारात्मक हुन्छ । यदि सय एमएल रक्तश्राव भएको छ भने उनीहरुको दुई घण्टामै मृत्यु हुन सक्ने जोखिम उच्च छ,’ डा भन्छन् ।
मस्तिष्क रक्तश्राव भएको स्थितिमा तुरुन्तै अस्पताल लैजानुपर्ने र उपचार सुरु गर्नुपर्ने डा सुझाउँछन् ।