Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, मंसिर ७ गते ।

धनुषा प्रहरीको नियन्त्रणबाट नाटकीय रूपमा फरार भएका ठगी मुद्दाका प्रतिवादी कुशेश्वर साह अन्ततः पक्राउ परेका छन्। भाग्दै गरेको अवस्थामा उनलाई आज बिहान धनुषाको सीमावर्ती क्षेत्र जटहीबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएका ५४ वर्षीय साहलाई यसअघि धनुषा प्रहरीले नियन्त्रणमा लिएर पनि छाडिदिएको आरोप लागेको थियो।

सिरहाको मुसहरनियाँस्थित कौशल एग्रो राइस मिलका सञ्चालक साहमाथि किसानबाट उधारोमा धान खरिद गरी ४५ लाख रुपैयाँभन्दा बढी भुक्तानी नगरेको आरोप छ। २०८१ सालमा चार किसान रामनाथ साहले २१ लाख, प्रवेश साहले ४ लाख, दिनेश साहले १० लाख र अशोक महतोले १० लाख रुपैयाँ बराबरको धान उधारोमा बिक्री गरेका थिए। पटकपटक रकम माग्दा पनि भुक्तानी नपाएपछि किसानहरू प्रहरीको शरणमा पुगेका थिए।

किसानहरूले २०८१ पुसमै जाहेरी दिन खोजे पनि सुरुमा प्रहरीले दर्ता गर्न मानेको थिएन। विभिन्न प्रहरी तथा प्रशासनिक निकायमा धाएपछि करिब डेढ वर्षमा जाहेरी दर्ता भएको थियो।

गत शुक्रबार लहानबाट आएको प्रहरी टोलीले जनकपुरधाम-४, बंशीचोकस्थित काली होटलनजिक साहलाई हत्कडी लगाएर नियन्त्रणमा लिएको थियो। तर, मुजेलिया प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय नपुर्‍याई ‘माथिबाट फोन आएको’ भन्दै छाडिदिएको पीडित पक्षको आरोप थियो।

पछि अस्पतालबाट घरमा लुगा लिन जाने बहानामा प्रहरी हवल्दारसँग पुगेका साह घरमा लुकेपछि उनलाई नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीको घेराबाटै उनी फरार भएका थिए। आज बिहान जटहीबाट उनलाई पुनः पक्राउ गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *