सामाजिक फीड–
जनकपुरधाम, साउन १२ गते ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को प्रश्नपत्र लिक प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार रौतहटको राजदेवी नगरपालिका-४ निवासी २५ वर्षीय अतुलकुमार मिश्रलाई काठमाडौं महानगरपालिका-१३, ताहाचलबाट तथा बाराको लिपनीमाल-१ घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका-२१ बस्ने ३१ वर्षीय अब्दुल सानि हाकिमलाई वीरगञ्ज महानगरपालिका-८ बाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनीहरूले साउन ८ गते त्रिविको व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरअन्तर्गत म्यानेजमेन्ट ५१५स् अर्गनाइजेसनल बिहेभियर विषयको परीक्षाको प्रश्नपत्र विभिन्न व्हाट्सएप समूहमार्फत सार्वजनिक तथा साझा गरेका थिए।
उनीहरू शिक्षा ऐनअन्तर्गतको कसुरमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ। दुवै जनाविरुद्ध अदालतबाट म्याद थप लिएर थप अनुसन्धान भइरहेको ब्युरोद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।