सामाजिक फीड–
जनकपुरधाम, साउन १२ गते ।
सर्लाहीको बागमती नगरपालिका-५ टेकानीस्थित ससुरालीमा आफ्नै श्रीमतीमाथि कुटपिट गरी साडीको पासो लगाएर हत्या गर्ने प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनकौल गाउँपालिका-१ शेखौना निवासी २१ वर्षीय बसन्ता बैठा धोबी रहेका छन्। प्रहरीले जनाएअनुसार सोमबार राति करिब ८ बजे उनले आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरेपछि साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेका थिए।
घटनाको प्रत्यक्षदर्शी बहिनी नाता पर्ने १० वर्षीया कुसुम कुमारीले तत्काल आफन्तलाई खबर गरेपछि उनीहरू घटनास्थल पुगेका थिए। आफन्तले समयमै साडीको पासो फुकालेर चिन्ता देवीको उद्धार गरेका कारण उनको ज्यान जोगिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी राजघाटबाट खटिएको टोलीले घाइतेलाई बागमती मोडेल अस्पताल, कर्मैयामा पुर्याएको थियो। त्यहाँ सामान्य उपचारपछि उनलाई थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको थियो। त्यसपछि थप उपचारका लागि रौतहटको गरुडास्थित बेटर नेपाल अस्पताल लगिएको छ। हाल उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न बसन्ता बैठा धोबीलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ।