सामाजिक फीड–
जनकपुरधाम, साउन ७ गते ।
धनुषा प्रहरीले अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका ४४ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत उनीहरूलाई बुधबार जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार फरार प्रतिवादीको खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रियाका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको उनले बताए।
पक्राउ परेकामध्ये सबैभन्दा धेरै लागुऔषधसम्बन्धी मुद्दाका प्रतिवादी रहेका छन्। त्यसबाहेक चोरी, मोटरसाइकल चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, लुटपाट, कुटपिट, गाली–बेइज्जती र सवारी अङ्गभङ्गजस्ता विभिन्न फौजदारी मुद्दामा दोषी ठहर भई फरार रहेका व्यक्तिहरू पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीलाई अदालतले छ दिनदेखि चार वर्षसम्म कैद सजाय तथा ५०० रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना तोकेको थियो। फैसला भए पनि लामो समयसम्म फरार रहेकाले उनीहरूलाई विशेष अभियानमार्फत पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तर सञ्चालन गरिने जनाएको छ। प्रहरीका अनुसार अदालतको आदेश कार्यान्वयन गराउने र कानुनी शासनलाई मजबुत बनाउने उद्देश्यले यस्ता अभियान आगामी दिनमा पनि जारी रहनेछन्।