सामाजिक फीड–
जनकपुरधाम, साउन ६ गते ।
नेपाली बजारमा मल नपाएपछि आफ्नै खेतमा धान रोपाइँका लागि मल ल्याउन पुगेका सर्लाहीका दुईजना किसान २० दिनदेखि भारतीय जेलमा थुनिएका छन्। बलरा नगरपालिका-५ का ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंह आफ्नै साढे दुई बिघा खेतमा धान रोप्न भारतको सोनवर्षाबाट दुई बोरा युरिया र छ बोरा डीएपी खरिद गरी साइकलमा ल्याउँदै गर्दा असार १७ गते भारतीय कृषि विभाग र सशस्त्र सीमा बल (एसएसबी) ले तस्करीको आरोपमा पक्राउ गरेको थियो। उनीहरू अहिले भारतको सीतामढी जिल्लास्थित डुमरा कारागारमा छन्।
परिवारका अनुसार पक्राउ परेको तीन सातासम्म पनि उनीहरू धरौटीमा छुट्न सकेका छैनन्। नागेन्द्रका ज्वाइँ प्रवीन सिंहले अदालतमा कागजात पुगे पनि न्यायिक प्रक्रियाको ढिलाइ र न्यायाधीश बिदामा रहेका कारण सुनुवाइ हुन नसकेको बताए। उनका अनुसार परिवार निरन्तर दौडधुपमा रहे पनि अहिलेसम्म रिहाइको टुंगो लागेको छैन।
दाजुभाइ पक्राउ परेपछि घरमा खेतीपाती ठप्प भएको छ। गाउँका अधिकांश खेतमा रोपाइँ सकिँदा पनि उनीहरूको साढे दुई बिघा खेत अझै बाँझै छ।
नेपाल सरकारले समयमा मल उपलब्ध गराउन नसक्दा सीमावर्ती किसान भारतीय बजारबाट मल ल्याउन बाध्य हुने गरेको स्थानीय बताउँछन्। तर भारतले अनुदानमा उपलब्ध गराइने मल सीमाबाहिर लैजान कडाइ गरेपछि आफ्नै खेतका लागि मल ल्याउने किसानसमेत पक्राउ पर्ने अवस्था सिर्जना भएको छ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराइसकिएको र भारतीय पक्षसँग समन्वय भइरहेको बताए। उनका अनुसार परिवारले थुनामा रहेका किसानसँग भेटघाट गर्न पाएका छन् र आवश्यक कूटनीतिक पहलका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ।
तर परिवार र स्थानीयवासीले भने बालेन्द्र शाह नेतृत्वको सरकारले अपेक्षित सक्रियता नदेखाएको गुनासो गरेका छन्। उनीहरूका अनुसार किसान तस्कर होइनन्, आफ्नै खेत बचाउन मल ल्याउन बाध्य भएका थिए।
हरेक वर्ष दोहोरिने मल अभावका कारण यसपालि पनि सम्पूर्ण तराई–मधेसका किसान प्रभावित भएका छन्। सरकारी डिपोमा घण्टौं लाइन बस्दा पनि मल नपाउने, निजी बजारमा महँगो मूल्य तिर्नुपर्ने र अन्ततः भारतीय बजारको भर पर्नुपर्ने बाध्यताले किसानको उत्पादनमात्र होइन, सम्मान र सुरक्षामाथि पनि प्रश्न उठाएको छ। किसानहरूले सिंह दाजुभाइको तत्काल रिहाइसँगै धान रोपाइँको सिजनमा मल अभाव अन्त्य गर्न सरकारसँग प्रभावकारी कदम चाल्न माग गरेका छन्। धान रोपाइँको मुख्य सिजनमा पनि रासायनिक मलको चरम अभाव भएपछि तराई–मधेसका किसान वर्षौंदेखिको बाध्यताअनुसार सीमावर्ती भारतीय बजारबाट भारतीय एसएसबीको लठ्ठी खाँदै मल ल्याउन विवश छन्।