सामाजिक फीड–
जनकपुरधाम,असार ३२ गते ।
सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका ३ जना बालबालिकाको मृत्यु भएको चार दिन नबित्दै फेरि मधेश प्रदेशमा एकजना बालिकाको डुबेर मृत्यु भएको छ । ईटा भट्टाबालाले खनेको खाप्ल्डोमा डुबेर बाराको करैयामाई गाउँपालिका वडा नं। ३ गालोपाट्टीकी ११ वर्षीया रोशनी चौधरीको मृत्यू भएको छ ।
बुधबार साँझ करिब ५ बजे गौतम इट्टा उद्योगले माटो निकाल्न खनेको खाल्डोमा बाख्रा चराउन गएकी शिवनारायण चौधरीको छोरी रोशनी डुबेको अवस्थामा फेला परेकी हुन्। गत आइवतार मात्रै सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चोक चोहर्वामा रहेको पशु हाटबजारनजिक खाल्डोमा जमेको पानीमा डुबेर तीनजना बालिकाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा कवाड तथा प्लास्टिकका टुक्रा संकलन गरेर जीविकोपार्जन गर्ने स्थानीय अवास शेख र सबिनाका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख छन् । सबिना गोलबजारमा एक घर भाडामा लिएर पाँच सन्तानलाई साथै राखेर कवाड संकलन गर्दै परिवारको गुजारा चलाउँदै आइरहेकी थिइन् । उनका श्रीमान् शारीरिक रुपमा अशक्त भएकाले रौटहटस्थित घरमै छन् । आइतवारै बाराको कलैया उपमहानगरपालिका–११ घोघडरियास्थित एक पोखरीमा स्थानीय सन्तोष पासवानकी ६ वर्षीया छोरी राधिका कुमारी नुहाउने क्रममा पोखरीमौ डुबेकी थिइन् । मधेश प्रदेशमा सरकारको नियमन नहुँदा जथाभावी खनेको खाल्डोमा बालबालिका डुबेर मृत्यु हुने घटना समान्य बन्दै गएको छ । आठवटै जिल्लामा वर्षेनी डुबेर सयभन्दा बढी बालबालिकाले अकालमै ज्यान गुमाउनु परेको छ ।
विकास निर्माणका लागि खनेर छाडिएका खाल्डा, नदी तथा नदीकिनारमा जथाभावी ग्राभेल उत्खनन्पछि बनेका खाल्डामा जमेको पानी, माछापोखरी तथा अन्य जलाशयहरू अबोध बालबालिकाका लागि काल बन्दै गएका छन् ।
पछिल्ला चारवर्षको अवधिमा मधेशमा साढे चार सय बालबालिकाको यस्ता खाल्डा तथा पोखरीमा डुबेर ज्यान गएको प्रहरीको तथ्यांक छ । वर्षेनी सय बढी बालबालिकाको आकालमा डुबेर मृत्यु भइरहेको प्रहरीकै तथ्यांकले देखिन्छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२र८३ को जेठ मसान्तसम्म मात्र मधेश प्रदेशमा डुबेर १११ जना बालबालिकाको अकालमै ज्यान गएको छ ।
मृत्यु हुनेमध्ये ५७ जना बालक र ५४ जना बालिका छन् । सबैभन्दा बढी रौतहटमा २४ जना बालबालिकाको डुबेर मृत्यु भएको छ । त्यहाँ १३ जना बालक र ११ जना बालिकाले ज्यान गुमाएका छन् ।
त्यसैगरी, सप्तरीमा ६ बालिकासहित १७ जना, सिरहामा ७ बालिकासहित १६ जना, धनुषा र सर्लाहीमा १३–१३ जना बालबालिकाको डुबेर मृत्यु भएको छ । धनुषामा ८ जना बालिका र ५ जना बालक तथा सर्लाहीमा ८ जना बालक र ५ जना बालिकाले ज्यान गुमाएका छन् ।
यस्तै, महोत्तरीमा ७ जना बालिका र ५ जना बालक गरी १२ जना, बारामा ६ जना बालक र ५ जना बालिका गरी ११ जना तथा पर्सामा ५ जना बालकको डुबेर मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । यसअघि आर्थिक वर्ष २०८१ ८२ मा पनि डुबेर १५० जना बालबालिकाको मृत्यु भएको थियो । तीमध्ये ९६ जना बालक र ५४ जना बालिका थिए ।
बालबालिका डुबेर मृत्यु हुने क्रम बढ्नुमा गाउँ–गाउँमा रहेका माछा पोखरी, नुहाउने तथा लुगा धुने पोखरी, विकास निर्माणका लागि खनेर छाडिएका खाल्डाखुल्डी तथा निजी जग्गा, खोला र नदी किनारबाट माटो तथा ग्राभेल उत्खनन गरी छाडिएका खाल्डाहरू प्रमुख कारण बनेका छन् ।