Skip to main content

Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम,असार ३१ गते ।

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा जङ्गली हात्तीको बथानको आतंक लगातार १० दिनदेखि जारी छ । हात्ती आतंकले स्थानीयवासी त्रसित बनेका छन्। हात्तीले सयौँ कठ्ठा खेतीयोग्य जमिनमा लगाइएको मकैबाली, धानको बीउ तथा रोपाइँका लागि तयार पारिएको धानको ब्याड नष्ट गर्नुका साथै दर्जनौँ घरमा क्षति पुर्‍याएको छ। खाद्यान्न, पशुचौपायाको आहारा र घरायसी सामग्री ध्वस्त भएपछि प्रभावित परिवार रातभर जाग्राम बस्न बाध्य भएका छन्।

स्थानीयका अनुसार हात्तीले खेतमा सँगै घरभित्र रहेका धान, चामल, मकै, तरकारी, फलफूल तथा अन्य खाद्यान्न नष्ट गर्नुका साथै नमुना मुसहर बस्तीका केही घरटहरा समेत भत्काएको छ । प्रारम्भिक विवरणअनुसार हालसम्म कम्तीमा ४१ किसानको मकैबाली, धानको बीउ र धानको ब्याडमा क्षति पुगेको छ। केही किसानको दुई बिघासम्मको मकैबाली तथा रोपाइँका लागि तयार गरिएको धानको ब्याड हात्तीले कुल्चेर नष्ट गरेको छ। बमभोल चौधरी, ध्रुव कोइराला, काजी सार्की, पवन चौधरी, पूर्णप्रसाद काफ्ले, लालबहादुर तामाङ, गोपालप्रसाद खतिवडा, अर्जुन कार्की र देवुमाया भुजेललगायतका किसान सबैभन्दा बढी प्रभावित भएका छन्। स्थानीय प्रदीप आचार्य र श्रीप्रसाद अर्यालको एक–एक बिघामा तयार गरिएको धानको ब्याड पूर्ण रूपमा नष्ट भएको छ भने पुष्पराज बन्जाराको भैँसीगोठमा क्षति पुग्नुका साथै पशुचौपायाको आहारा पनि नष्ट भएको छ।

हात्तीको आक्रमणले बालीनालीसँगै भौतिक संरचनामा पनि ठूलो क्षति पुर्‍याएको छ। खडीराज आचार्य, नरमाया बिष्ट, कमानसिंह मगर, सत्यनारायण मण्डल, लीलामाया बस्नेत, विनोद दहाल, जनकराज अधिकारीलगायतका परिवारका घर, भान्साघर, गोठ, टिनका छाना, पर्खाल तथा घरायसी सामग्रीमा क्षति पुगेको छ। उनीहरूको घरमा सञ्चित सयौँ किलो चामल, धान, मकै, गहुँ, पशुदाना र चोकरसमेत हात्तीले नष्ट गरेको स्थानीयले बताएका छन्। रतवाला क्षेत्रका श्रीकुमारी चौधरी, हेमनारायण चौधरी र सुवास चौधरीका घरमा पनि हात्तीले प्रवेश गरी खाद्यान्न तथा अन्य सामग्रीमा क्षति पुर्‍याएको छ।
हात्तीको आक्रमणबाट भुजेल टोलका कञ्चन गिरी घाइते भएका छन । स्थानीयका अनुसार हात्तीको बथान प्रत्येक रात गाउँमा प्रवेश गरी खेतीपाती, घरगोठ र खाद्यान्नमा क्षति पुर्‍याइरहेको छ। वन तथा सुरक्षा निकायबाट प्रभावकारी नियन्त्रण हुन नसक्दा स्थानीय रातभर जाग्राम बस्न बाध्य भएका छन्। क्षतिको एकीकृत विवरण सङ्कलन भइरहेको र प्रभावित परिवारको सङ्ख्या अझै बढ्न सक्ने जनाइएको छ।

स्थानीयवासीले घटनास्थलमै क्षतिको मूल्याङ्कन गरी शीघ्र क्षतिपूर्ति उपलब्ध गराउन, इलाका प्रहरी कार्यालय महुलीमा पर्याप्त जनशक्ति र आवश्यक उपकरणसहित स्थायी सुरक्षा व्यवस्था मिलाउन, हात्ती प्रवेश गर्ने मुख्य नाकामा चौबीसै घण्टा सुरक्षाकर्मी परिचालन गर्न तथा वन कार्यालयमा उद्धार र नियन्त्रणका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न माग गरेका छन्। त्यसैगरी प्रभावित क्षेत्रमा विद्युतीय वा अन्य उपयुक्त तारबार, उच्च क्षमताका बत्ती, साइरन प्रणाली तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालयको संयुक्त सुरक्षा गस्ती सञ्चालन गर्न पनि उनीहरूले आग्रह गरेका छन्। साथै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका दीर्घकालीन उपाय अवलम्बन गर्न संघ, प्रदेश र स्थानीय सरकारसँग माग गरेका छन्।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले दुई दिनअघि हात्ती प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्दै प्रभावित परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया छिट्टै अघि बढाइने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *