सामाजिक फीड–
जनकपुरधाम,असार ३१ गते ।
सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका एक व्यक्तिको उपचारकै क्रममा मृत्यु भएको केही घण्टामै रौतहटमा पनि एक युवकले उस्तै शैलीमा आत्मदाहको प्रयास गरेका छन्।
रौतहटको गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यका अनुसार सहनी केही दिनयता मानसिक तनाव तथा डिप्रेसनबाट पीडित थिए।
उनी डिप्रेशनमा रहेको र मापसे सेवन अत्यधिक गर्ने गरेको परिवारले प्रहरीलाई जानकारी दिएका छन्।
उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आत्मदाहको प्रयास गरेका हुन्।
परिवारका सदस्यले तत्काल उनलाई बेटर नेपाल अस्पताल, गरुडामा पुर्याएका थिए। प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार सहनीको घाँटीदेखि तलसम्म शरीरको करिब ३१।५ प्रतिशत भाग जलेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
लगातार दुई जिल्लामा भएका यस्ता घटनाले मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे गम्भीर बहसको आवश्यकता औंल्याएको छ। यसअघि सर्लाहीको गोडैता नगरपालिका-१० सिसौटियाका ४२ वर्षीय विवेक मण्डलले गत शुक्रबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
उनलाई उपचारका लागि ललितपुरस्थित बर्न अस्पताल लगिए पनि मंगलबार बिहान उपचारकै क्रममा मृत्यु भएको थियो । पछिल्लो समय बेरोजगारीले तनावमा रहेका मण्डलले आत्मदाहको प्रयास गर्नुको स्पष्ट कारण भने अझै खुल्न सकेको छैन । पछिल्लो समय मुगुका गणेश नेपाली र काठमाडौंका आश्विन राउतको पनि आत्मदाह पछि मृत्यु भएको थियो।