Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम,असार २६ गते ।

जनकपुरधामसहित मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । पछिल्ला केही सातायता ग्यासको नियमित आपूर्ति नहुँदा धनुषा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा तथा पर्सासम्मका उपभोक्ताले ग्यासका लागि डिलर धाउनुपर्ने अवस्था बनेको छ। विशेषगरी कोशी, नोबेल, ग्यास प्रयोग गर्ने उपभोक्ता सबैभन्दा बढी प्रभावित भएका छन्। पर्याप्त आपूर्ति नहुँदा बजारमा कृत्रिम अभाव सिर्जना भएको, केही स्थानमा तोकिएको मूल्यभन्दा बढी रकम असुली भइरहेको तथा अनुगमन कमजोर हुँदा उपभोक्ता थप मारमा परेको गुनासो बढ्दै गएको छ।

सिरहाको लहानमा भने समस्या अझ गम्भीर बनेको छ। स्थानीयका अनुसार सिलिन्डरमा पाइने कोशी ग्यास सकिएपछि लहानका चारवटै डिलर धाउँदा पनि ग्यास पाइएको छैन । डिलरहरुमा ग्यास आएको भोलिपल्ट नै सकिने गरेको छ भने ग्यास कहिले आउने भन्ने निश्चित जानकारीसमेत नदिइने भएकाले उपभोक्ताले साइकल र मोटरसाइकलमा सिलिन्डर बोकेर विभिन्न डिलर चहार्दा पनि रित्तै फर्किनुपर्ने अवस्था छ। स्थानीयका अनुसार एक हजार ५० रुपैयाँमा बिक्री हुनुपर्ने ग्यास सिलिन्डर कृत्रिम अभाव सिर्जना गरी कतिपय स्थानमा अतिरिक्त रकम लिएर बिक्री भइरहेको छ। ग्यासबिनै दैनिक खाना पकाउन कठिन हुने भएकाले उपभोक्ता बाध्य भएर महँगो मूल्य तिरेर ग्यास खरिद गर्नुपरेको उनीहरुको भनाइ छ। प्रभावकारी अनुगमन नहुँदा कालोबजारी मौलाउँदै गएको उनले बताए।

ग्यासको मात्रै अभाव किन भइरहेको भन्ने विषयमा लहान–३ का ग्यास डिलर श्रवण महतोले विराटनगरबाट मागअनुसार ग्यास आपूर्ति हुन नसकेको जानकारी दिए। उनका अनुसार लहानका चारवटै डिलरमा आवश्यकताभन्दा निकै कम मात्रामा ग्यास आउने गरेको छ। ग्यास आएको दिन ठूलो संख्यामा उपभोक्ता पुग्ने, होटल व्यवसायी र घरेलु उपभोक्ताबीच छुट्याएर वितरण गर्न कठिन हुने तथा कतिपय उपभोक्ताले एकैपटक चार–चारवटा सिलिन्डर सुरक्षित राख्ने गरेकाले भोलिपल्टसम्म आइपुग्दा ग्यास सकिने गरेको उनले बताए। आपूर्ति व्यवस्थापन कमजोर हुँदा डिलर स्वयं पनि समस्यामा परेको उनको भनाइ छ।

जिल्ला उद्योग वाणिज्य संघ लहान–सिरहाका अध्यक्ष प्रदीप गुप्ताले कोशी ग्यास प्रयोग गर्ने उपभोक्ताबाट लगातार गुनासा आइरहेको बताए। समस्या समाधानका लागि सम्बन्धित निकाय र आपूर्तिकर्तासँग पटक–पटक छलफल तथा पहल गरिए पनि उल्लेख्य सुधार हुन नसकेको भन्दै उनले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।

यता इलाका प्रशासन कार्यालय लहानले पनि ग्यास अभाव र कालोबजारीबारे गुनासा प्राप्त भएको जनाएको छ। कार्यालय प्रमुख वेदनिधि खनालले केही ग्यास डिलरले गोप्य रूपमा गोदाममा ग्यास भण्डारण गरेर बिक्री गरिरहेको भन्ने सूचना प्राप्त भएकाले लहान नगरपालिकासँग समन्वय गरी बजार अनुगमन गर्ने तयारी भइरहेको जानकारी दिए। मधेश प्रदेशभर ग्यासको आपूर्ति असहज बन्दै जाँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित हुन थालेको छ। नियमित आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न तथा बजारको प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग उपभोक्ताले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *