सामाजिक फीड–
जनकपुरधाम,असार २४ गते ।
सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादव घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले मंगलबार उनलाई कर्जन्हा नगरपालिका–४मिर्चैयाबाट बाट १२ हजार रुपैयाँ घुससहित रंगेहात नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार कर्जन्हा नगरपालिका–२ मा रहेको एक काठ उद्योगले विभिन्न स्थानबाट ल्याएको तीन ट्रक काठको कागजी प्रक्रिया मिलाइदिने भन्दै यादवले प्रतिट्रक चार हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए।
घुस मागिएपछि उद्योगीले अख्तियारमा उजुरी दिएका थिए। उजुरीपछि अख्तियारले निगरानी बढाएर ‘स्ट्रिङ अपरेसन’ सञ्चालन गरेको थियो। सोही क्रममा सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको हो।
अख्तियारले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। भ्रष्टाचारसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने आयोगले जनाएको छ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।