सामाजिक फीड–
जनकपुरधाम,असार २४ गते ।
रौतहटको ईशनाथ नगरपालिका-३ औरैयामा जग्गाको स्वामित्वलाई लिएर भएको विवाद हिंसात्मक बन्दा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ।
मंगलबार राति करिब ८ बजे स्थानीय रामबहादुर साह, बुटन साह, रामऔतार साह र उनका छोरा रामेश्वर साहबीच जग्गा सम्बन्धी पुरानो विवादलाई लिएर भनाभन भएको थियो। विवाद चर्किँदै जाँदा कुटपिट सुरु भएको र सोही क्रममा रामेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
चक्कु प्रहारबाट बुटन साहको ढाडमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिए पनि उपचारकै क्रममा राति करिब ९ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिए।
घटनामा रामबहादुर साहको टाउकोमा पनि चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनालगत्तै प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न रामेश्वर साह तथा उनका बुवा रामऔतार साहलाई नियन्त्रणमा लिएको छ। घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।