Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम,असार १२  गते ।

मनसुनी गतिविधि तीव्र बन्दै गएसँगै आगामी दुई दिन मधेश प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने चेतावनी दिइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार असार १६ र १७ गते मधेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने तथा एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

विशेषगरी मधेशका तराई क्षेत्रमा निरन्तर वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्ने, सहरी तथा ग्रामीण बस्तीमा डुबान हुने र आकस्मिक बाढीको जोखिम बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ। वर्षाका बेला खोला, खहरे र नदी आसपासबाट यात्रा नगर्न तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन अनुरोध गरिएको छ।

यद्यपि पहिरोको जोखिम मुख्यतः पहाडी क्षेत्रमा रहने भए पनि मधेशका नदी किनार र डुबान प्रभावित बस्तीमा कटान तथा बाढीको जोखिम उच्च रहने प्राधिकरणको भनाइ छ। मनसुनी वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने भएकाले अत्यावश्यक बाहेकको यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न पनि आग्रह गरिएको छ।

प्राधिकरणले डुबानको जोखिम रहेका बस्तीका बासिन्दालाई आवश्यक परे तुरुन्तै सुरक्षित तथा उचाइ भएका स्थानमा सर्न तयारी अवस्थामा रहन भनेको छ। साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह तथा स्वयंसेवकसहित सबै सरोकारवाला निकायलाई उद्धार र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

जोखिमयुक्त सडक र राजमार्गमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न तथा जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर पूर्वतयारीका काम अघि बढाउन पनि प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्का बेला सहायता माग्न ११४९, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ हटलाइन नम्बरमा तत्काल सम्पर्क गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *