Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम,असार १२  गते ।

मधेस प्रदेशमा आँपखेतीको क्षेत्रफल निरन्तर विस्तार भइरहे पनि यस वर्ष उत्पादन भने उल्लेख्य रूपमा घटेको छ। किसानले उन्नत जातका बिरुवा रोप्ने, बगैँचा व्यवस्थापन सुधार्ने र सिँचाइ सुविधामा लगानी बढाउने क्रम जारी रहे पनि प्रतिकूल मौसम र रोग–कीराको प्रकोपले उत्पादनमा ठूलो असर परेको कृषि विज्ञहरूको भनाइ छ। यसले क्षेत्रफल विस्तार मात्रले कृषि उत्पादन वृद्धि सुनिश्चित नहुने र जलवायुजन्य जोखिम व्यवस्थापन अझै चुनौतीपूर्ण रहेको देखाएको छ।

कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका अनुसार आर्थिक वर्ष २०८२ ८३ मा प्रदेशभर ३२ हजार ५७४ हेक्टर क्षेत्रफलमा आँपखेती गरिएको छ। यस क्षेत्रफलबाट प्रतिहेक्टर औसत ९।४ मेट्रिक टन उत्पादकत्वका दरले कुल दुई लाख ९४ हजार ५६७ मेट्रिक टन आँप उत्पादन भएको बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिए।

यसअघि आर्थिक वर्ष २०८१ ८२ मा २९ हजार ८८० हेक्टर क्षेत्रफलमा आँपखेती हुँदा प्रतिहेक्टर ११।४३ मेट्रिक टन उत्पादकत्वका दरले तीन लाख ४१ हजार ४४५ मेट्रिक टन उत्पादन भएको थियो। तथ्याङ्कअनुसार चालु वर्ष आँपखेतीको क्षेत्रफल २ हजार ६९४ हेक्टरले बढे पनि कुल उत्पादन ४६ हजार ८७८ मेट्रिक टनले घटेको छ। यससँगै प्रतिहेक्टर उत्पादकत्व पनि उल्लेख्य रूपमा खस्किएको देखिन्छ।

कृषि विज्ञ दिनेश यादवका अनुसार यस वर्ष फूल लाग्ने र फल विकास हुने समयमा आएको हावाहुरी तथा रोग–कीराको प्रकोप उत्पादन घट्नुको मुख्य कारण हो। “किसानले उन्नत बिरुवा प्रयोग गर्न थालेका छन्, बगैँचा व्यवस्थापन र सिँचाइ प्रणालीमा पनि सुधार भएको छ। तर मौसमको प्रतिकूल प्रभावका कारण अपेक्षित उत्पादन लिन सकिएन,” उनले भने। उनका अनुसार जलवायु परिवर्तनका कारण बर्सेनि यस्ता जोखिम बढ्दै गएकाले आँप उत्पादनमा प्रत्यक्ष असर परिरहेको छ।

निर्देशनालयका अनुसार यस वर्ष जिल्लागत रूपमा बारामा सबैभन्दा बढी प्रतिहेक्टर १३।८० मेट्रिक टन उत्पादकत्व रहेको छ भने सर्लाहीमा सबैभन्दा कम ६।२० मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको छ। यसले एउटै प्रदेशभित्र पनि मौसम, व्यवस्थापन र स्थानीय अवस्थाका आधारमा उत्पादकत्वमा ठूलो अन्तर रहेको देखाउँछ।

उत्पादनका हिसाबले सप्तरी अग्रस्थानमा रहेको छ। सप्तरीमा ८ हजार ३८७ हेक्टर क्षेत्रफलबाट ७५ हजार ५०० मेट्रिक टन आँप उत्पादन भएको छ। त्यसपछि सिरहामा ९ हजार ५० हेक्टरबाट ७२ हजार ४०० मेट्रिक टन र रौतहटमा ४ हजार ७७० हेक्टरबाट ५४ हजार ३७८ मेट्रिक टन उत्पादन भएको छ।

यस्तै, महोत्तरीमा ३ हजार हेक्टरबाट २९ हजार ७०० मेट्रिक टन, धनुषामा ३ हजार ३२५ हेक्टरबाट २३ हजार २७५ मेट्रिक टन, बारामा १ हजार ४९५ हेक्टरबाट २० हजार ६३१ मेट्रिक टन, सर्लाहीमा २ हजार १०० हेक्टरबाट १३ हजार २० मेट्रिक टन तथा पर्सामा ४४७ हेक्टरबाट ५ हजार ९६३ मेट्रिक टन आँप उत्पादन भएको तथ्याङ्क छ।

मधेस प्रदेशमा मालदह, दशहरी, बम्बई, कलकतिया, आम्रपाली लगायतका व्यावसायिक जातका आँप उत्पादन हुँदै आएको छ। यहाँ उत्पादित आँप प्रदेशका स्थानीय बजारसँगै काठमाडौं उपत्यका र देशका अन्य प्रमुख बजारमा समेत आपूर्ति गरिन्छ, जसले मधेसलाई मुलुककै प्रमुख आँप उत्पादन क्षेत्रका रूपमा स्थापित गरेको छ।

कृषि विकास निर्देशनालयका अनुसार उत्पादनमा यस वर्ष गिरावट आए पनि आँपखेतीको दीर्घकालीन व्यवसायीकरण, आधुनिक बगैँचा व्यवस्थापन र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ। कृषि विज्ञहरू भने मौसमजन्य जोखिम न्यूनीकरण, रोग–कीरा व्यवस्थापन, बाली बीमा र आधुनिक प्रविधिको प्रयोगमा थप लगानी नगरे क्षेत्रफल बढ्दै जाँदा पनि उत्पादनमा अपेक्षित वृद्धि हासिल गर्न कठिन हुने बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *