Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम,असार ११ गते ।

धनुषाका तीन स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि नीति, कार्यक्रम तथा बजेट निर्धारित समयभित्र सार्वजनिक गर्न सकेका छैनन्। जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका र विदेह नगरपालिकाले तोकिएको मितिमा नगरसभा सम्पन्न गर्न नसक्दा बजेट प्रस्तुत हुन सकेको छैन।

जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख किशोरी साहले नगरसभा हुन नसक्नुको स्पष्ट कारणबारे आफूलाई जानकारी नभएको बताउँदै नगरप्रमुख जिल्ला बाहिर रहेकाले निर्धारित समयमा सभा आयोजना हुन नसकेको जानकारी दिए ।

विदेह नगरपालिकाका प्रमुख बेचन दासका अनुसार आर्थिक वर्ष २०८१र८२ को हिसाब फर्छ्योटको प्रक्रिया पूरा नभएकाले नगरसभा प्रभावित भएको हो। जेन–जी आन्दोलनका क्रममा नगरपालिकाको कार्यालयमा भएको आगजनीका कारण प्रशासनिक कामकाज प्रभावित भएको र आवश्यक कागजात प्रमाणीकरण हुन नसक्दा नगरसभा गर्न कठिनाइ भएको उनको भनाई छ ।

यस्तै, कमला नगरपालिकाका प्रमुख विशेश्वर यादवले पनि तोकिएको समयमा नगरसभा गर्न नसकिएको स्वीकार गर्दै वडा बैठक सम्पन्न भएपछि नगरसभाको नयाँ मिति तय गरिने जानकारी दिए ।
धनुषामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिकासहित कुल १८ स्थानीय तह रहेका छन्। तीमध्ये १५ स्थानीय तहले भने समयमै नगरसभा सम्पन्न गरी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम पारित गरिसकेका छन्।

समयमै बजेट ल्याउने स्थानीय तहमा गणेशमान चारनाथ नगरपालिका, बटेश्वर, लक्ष्मिनियाँ, औरही, जनकनन्दिनी, मुखियापट्टी मुसहरनियाँ र धनौजी गाउँपालिका तथा नगराइन, क्षिरेश्वरनाथ, धनुषाधाम, मिथिला, सबैला, शहीदनगर, मिथिला बिहारी र हंसपुर नगरपालिका रहेका छन्।

नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहहरूले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गाउँसभा वा नगरसभामा पेश गर्नुपर्ने व्यवस्था छ। साथै, बजेट पेश भएको १५ दिनभित्र बहुमतबाट पारित गर्नुपर्ने कानुनी प्रावधान रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *