Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम,असार १० गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा उम्मेदवारको अन्तिम सूची समयमै सार्वजनिक हुन नसक्दा विद्युतीय मतदान प्रक्रिया थप ढिलाइ हुने भएको छ। निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदान बिहान ९ बजेदेखि सुरु हुने बताएका थिए। तर, हालसम्म उम्मेदवारहरूको प्रारम्भिक नामावली समेत सार्वजनिक हुन सकेको छैन।

निर्वाचन आयोगले बिहान साढे १० बजेसम्म प्रारम्भिक नामावली प्रकाशन गर्ने जनाएको थियो। उम्मेदवारको अन्तिम सूची प्रकाशित भएपछि त्यसमा समावेश उम्मेदवारहरूको फोटोसहितको विवरण विद्युतीय मतदान मेसिनमा अपलोड गर्नुपर्ने हुन्छ। आयोगका अनुसार करिब ४ सय जनाले उम्मेदवारी दर्ता गराएका छन्। यद्यपि, उम्मेदवारको यकिन संख्या भने अझै सार्वजनिक गरिएको छैन।

राम लक्ष्मण ई-भोटिङ मेसिनका संस्थापक राम रिमालका अनुसार अन्तिम सूची प्राप्त भएपछि मतदान मेसिनमा आवश्यक विवरण अपलोड गर्न मात्रै ४ देखि ५ घण्टा लाग्नेछ। उनका अनुसार एक मतदाताले मतदान गर्न औसतमा १५ देखि १८ मिनेट समय खर्चिनुपर्नेछ।
निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ।

रास्वपाका विदेशमा रहेका प्रतिनिधिहरुले उतैबाट मतदान गर्न पाउने भएका छन् । विदेश स्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरुलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरिएको हो । विदेशबाट १६३ प्रतिनिधि रहेका छन् । उनीहरु मध्ये महाधिवेशनमा उपस्थित हुन नसकेकालाई मोबाइलबाटै मतदानको व्यवस्था गरिएको रास्वपाले जनाएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उनीहरूको नाम र तस्बिर राखेर मतदान गराइने छ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा भइरहेको ढिलाइका कारण रास्वपा महाधिवेशनको अवधि अझ लम्बिने देखिएको छ। मंगलबारसम्म सम्पन्न गर्ने योजना बनाइएको महाधिवेशन यसअघि नै एक दिन थपिएको थियो।
महाधिवेशनअन्तर्गत पहिलो चरणमा ९९ केन्द्रीय सदस्यका लागि मतदान हुनेछ भने त्यसपछि दोस्रो चरणमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अघि बढाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *