Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम,असार ८  गते ।

धनुषाको सहिदनगर नगरपालिका-३ यदुकुहाका पूर्ववडाध्यक्ष नागेन्द्रप्रसाद मण्डल एक सातादेखि सम्पर्कविहीन भएका छन्। गत आइतबार दिउँसो औषधि लिन जनकपुर जाने भन्दै घरबाट निस्किएका मण्डल त्यसयता परिवारको सम्पर्कमा आएका छैनन्।

मण्डलकी भाउजू पार्वती मण्डलका अनुसार उहाँलाई विगत दुई महिनादेखि राति निद्रा नलाग्ने समस्या थियो र नियमित रूपमा औषधि सेवन गर्दै आउनुभएको थियो। औषधि सकिएपछि मोटरसाइकल लिएर जनकपुर जानुभएको भए पनि त्यसपछि घर फर्किनुभएन। उहाँको मोबाइल फोनसमेत बन्द रहेकाले परिवार चिन्तित बनेको छ।

पार्वती मण्डलले घरपरिवारमा कुनै विवाद वा मनमुटाव नरहेको बताउँदै मण्डल सामान्य अवस्थामै घरबाट निस्किएको जानकारी दिनुभयो। उहाँले प्रयोग गर्ने मोटरसाइकल र हेल्मेट भने जनकपुरको पुलचोकस्थित घरमा सुरक्षित अवस्थामा फेला परेको बताइएको छ। परिवारले सम्बन्धित निकायसँग खोजी कार्य तीव्र बनाउन आग्रह गरेको छ।

छिमेकी दीपेन्द्र मण्डलका अनुसार नागेन्द्रप्रसाद मण्डल जनकपुर पुगेकै दिन रेल चढेर भारतको जयनगरतर्फ गएको सूचना प्राप्त भएको छ।

इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले मण्डलको खोजी कार्य जारी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार जयनगर रेलवे स्टेशनको सिसिटिभी फुटेजमा बेपत्ता भएकै दिन मण्डल देखिएका छन्। मोबाइल फोनको अन्तिम लोकेसनसमेत जयनगर क्षेत्रमा देखिएकाले नेपाल–भारत सीमावर्ती सुरक्षा निकायसँग समन्वय गरेर खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

मण्डल २०७४ सालको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट वडाध्यक्ष निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा पराजित भएपछि उनले पार्टी त्यागेर स्वतन्त्र रूपमा सामाजिक गतिविधिमा सक्रियता जनाउँदै आएका थिए। हाल उनी जनता एकाइ माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *