सामाजिक फीड–
जनकपुरधाम,असार ५ गते ।
महोत्तरीको बर्दिबास नगरपालिकाको चुरे क्षेत्र आसपासका बस्तीमा हिंस्रक वन्यजन्तुको आक्रमण बढेपछि स्थानीयवासी त्रसित बनेका छन्। पछिल्लो समय गोठभित्रै पसेर पशुचौपाया मार्ने घटना लगातार हुन थालेका छन्।
हालै बर्दिबास–३ पाटुडाँडाको दमार टोलमा स्थानीय रुपमाया खड्काको खोरमा पसेको वन्यजन्तुले एउटा बोको मारेको र अर्को बाख्रीलाई घिसारेर लगेर खाएको अवस्थामा फेला परेको छ। यसअघि सोही क्षेत्रमा सुँगुरको पाठा तथा बर्दिबास–५ को टुटेश्वर बरडाँडामा दुईवटा चौपाया मारिएका थिए।
स्थानीय र वन उपभोक्ता समितिका पदाधिकारीहरूले आक्रमणकारी पाटेबाघ हुन सक्ने अनुमान गरेका छन्। यद्यपि, बाघ, चितुवा वा ब्वाँसोमध्ये कुन वन्यजन्तुले आक्रमण गरिरहेको हो भन्ने आधिकारिक पुष्टि भएको छैन।
लगातारका घटनापछि गाउँलेहरूले राति पहरा दिन थालेका छन्। वन क्षेत्र नजिकका बासिन्दाले घाँसदाउरा गर्न, पशु चराउन र आवतजावत गर्नसमेत असुरक्षा महसुस गरिरहेका छन्। वन समितिले स्थानीयलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।