सामाजिक फीड–
जनकपुरधाम,असार ३ गते ।
प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफल जारी रहँदा सांसदहरूबीच नियम र प्रक्रियालाई लिएर विवाद देखिएको छ।
बुधबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित शीर्षकहरूमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उद्योगमन्त्री गौरीकुमारी संसद्को रोष्ट्रममा थिइन्।
मन्त्रीले सांसदहरूको जिज्ञासाको जवाफ दिइरहेकै बेला श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) उठेर आफ्नो स्पष्टीकरण पुनः दोहोर्याउन खोजेका थिए। त्यसक्रममा सभामुख डोलप्रसाद अर्यालले स्पष्टीकरणमाथि फेरि स्पष्टीकरण नहुने भन्दै ध्यानाकर्षण गराएका थिए।
सभामुखको आग्रहपछि पनि सांसद राईले आफ्नो असन्तुष्टि व्यक्त गरिरहेपछि रास्वपाका सांसद मनिष झाले नियमापत्ति जनाए। उनले प्रतिनिधिसभा नियमावलीका दफा ५४ र ५५ को उल्लेख गर्दै प्रश्नोत्तर प्रक्रियाबारे स्पष्ट व्यवस्था रहेको बताए।
झाले मन्त्रीलाई आफ्नो जवाफ अन्तिम भएको बताउने अधिकार नियमावलीले दिएको उल्लेख गर्दै एउटै विषयमा पटकपटक बहस गर्न नमिल्ने तर्क गरे। साथै उनले सांसद साम्पाङलाई नियमावली अध्ययन गर्न र बारम्बार ‘बालहठ’ नगर्न आग्रह गरे।
“नियम कानुनको कुरा भइरहेको छ भने नियम स्पष्ट रूपमा लेखिएको छ, कृपया नियम पढ्नुस्,” भन्दै झाले आफ्नो धारणा राखेका थिए।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।