सामाजिक फीड–
जनकपुरधाम,असार २ गते ।
पुनर्योगका लागि आवेदन दिएका करिब एक हजार एसईई विद्यार्थीको उत्तरपुस्तिका नै हराएको पाइएको छ । उत्तरपुस्तिका फेला नपर्दा ती विद्यार्थीको पुनर्योग नतिजा अझै सार्वजनिक हुन सकेको छैन भने धेरै विद्यार्थी पूरक परीक्षा दिन बाध्य भएका छन्। यसले राष्ट्रिय परीक्षा बोर्डको कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठेको छ।
बोर्डका अनुसार पुनर्योगका लागि ३३ हजार ८ सय ८७ जनाले आवेदन दिएका थिए। तीमध्ये ३१ हजार ८ सय ५५ जनाको नतिजा प्रकाशित भए पनि करिब एक हजार विद्यार्थीको उत्तरपुस्तिका नभेटिएकाले नतिजा रोकिएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीले सबै विद्यार्थीको उत्तरपुस्तिका हराएको नभई तथ्यांकमा देखिएको बाँकी संख्यामा केही नतिजा स्थगित भएका र केहीले एउटै विषयमा एकभन्दा बढी पटक आवेदन दिएका कारण संख्या बढी देखिएको बताए।
जिल्ला तथा परीक्षा केन्द्रबाट पठाइएका उत्तरपुस्तिका व्यवस्थापनमा कमजोरी देखिएपछि पुनर्योग प्रक्रिया प्रभावित भएको बोर्डले जनाएको छ। पुनर्योगको नतिजा चित्त नबुझेमा विद्यार्थीले ग्रेडवृद्धि ९पूरक० परीक्षा दिन पाउने व्यवस्था रहे पनि नतिजा समयमै नआउँदा धेरै विद्यार्थी अन्योलमा परेका छन्। सोमबारदेखि देशभर पूरक परीक्षा सुरु भइसकेको छ।
यस घटनाले परीक्षा व्यवस्थापनमा भएको लापरबाहीलाई उजागर गरेको छ। पुनर्योगको क्रममा शिक्षक र बोर्ड दुवै पक्षका त्रुटिका कारण ५ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा परिवर्तन भएको तथ्य पनि सार्वजनिक भएको छ। विद्यार्थीले ५ सय रुपैयाँ शुल्क तिरेर पुनर्योगका लागि आवेदन दिएका थिए।
पुनः परीक्षणका क्रममा शिक्षकहरूले उत्तरपुस्तिकाभित्र प्राप्ताङ्क जोड्न छुटाएको, उच्च अंक ल्याएका विद्यार्थीको अंक कम देखाएर प्रविष्टि गरिएको तथा कतिपय अवस्थामा ७० अंक प्राप्त गरेका विद्यार्थीको अंक ७ मात्र प्रविष्ट गरिएको जस्ता गम्भीर त्रुटि फेला परेको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए। कतिपय उत्तरपुस्तिकामा विद्यार्थीले ६८ अंक प्राप्त गरे पनि गणनामा गल्ती हुँदा ३२ अंक मात्र कायम गरिएको भेटिएको छ भने प्राप्ताङ्क भए पनि कम्प्युटर इन्ट्रीमा शून्य राखिँदा नतिजामा एनजी आएको उदाहरणसमेत देखिएको छ।
विद्यालयमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था लागू गरिएपछि यस वर्ष पुनर्योगका लागि आवेदन दिने संख्या उल्लेख्य रूपमा बढेको थियो। गत वर्ष २७ हजार ३ सय १७ जनाले आवेदन दिएकोमा यस वर्ष झन्डै ३४ हजार पुगेको छ। त्यससँगै नतिजामा देखिएका त्रुटि पनि बढेका छन्। अघिल्ला वर्षमा ३ देखि ४ प्रतिशतसम्म त्रुटि देखिने गरेकोमा यस वर्ष बुधबारसम्म सार्वजनिक भएको पुनर्योग नतिजामा २७ हजार ६ सय ५४ जनामध्ये १ हजार ५ सय ५९ जनाको नतिजा परिवर्तन भएको छ, जुन कुलको ५।६३ प्रतिशत हो।
परिवर्तित नतिजामध्ये अधिकांश विद्यार्थीको ग्रेड वृद्धि भएको बोर्डले जनाएको छ। यद्यपि अझै हजारौं विद्यार्थीको नतिजा आउन बाँकी रहेकाले परीक्षा व्यवस्थापनमा भएको कमजोरीले विद्यार्थीको भविष्यसँग खेलवाड भएको भन्दै अभिभावक र सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।