Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ २९ गते ।

महोत्तरीको बर्दिवास नगरपालिका-९ का वडाध्यक्ष घुरन महतो बैंकिङ कसुर तथा अभद्र व्यवहारसम्बन्धी आरोपमा पक्राउ परेका छन् । लामो समयदेखि फरार सूचीमा रहेका महतोलाई प्रहरीले बिहीबार बर्दिवास क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डीएसपी गुरु प्रसाद तिमिल्सिनाका अनुसार वडाध्यक्ष महतोविरुद्ध बर्दिवास-९ र वडा नम्बर ६ का केही स्थानीयवासीले दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही अनुसन्धानका क्रममा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा करिब एक महिनाअघि नै पक्राउ आदेश जारी भए पनि उनी पक्राउ नपरेपछि प्रहरीको सक्रियतामाथि स्थानीय स्तरमा प्रश्न उठ्न थालेको थियो। पछिल्लो समय खोजतलासलाई तीव्र बनाउँदै आएको प्रहरीले अन्ततः उनलाई नियन्त्रणमा लिन सफल भएको हो।

प्रहरीले अदालतबाट म्याद थप गरी घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ। मुद्दाका विभिन्न पक्षबारे प्रमाण संकलन तथा बयान लिने कार्य जारी रहेकाले विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने डीएसपी तिमिल्सिनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *