Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ २८   गते ।

सवारी दुर्घटनापछि उत्पन्न विवादका क्रममा प्रहरीमाथि हातपात तथा सरकारी कामकारबाहीमा अवरोध गरेको आरोप लागेका पूर्व मधेश प्रदेशसभा सदस्य तथा नेकपा नेता अशोक यादव फरार भएका छन् । प्रहरीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले यादवका भतिजा र भान्जालाई भने नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ

प्रहरीका अनुसार सोमबार राति कविलासी नगरपालिका–८ अगर्वामा सडक किनारमा रोकिराखिएको ना ६ ख ७६२३ नम्बरको ट्रकमा यादवले प्रयोग गर्ने ज १ त २५५० नम्बरको ट्याक्टर ठोक्किएको थियो। दुर्घटनापछि विवाद चर्किँदा यादवसहितको समूहले घटनास्थलमा पुगेका प्रहरीमाथि दुर्व्यवहार गरेको र ट्याक्टर लिएर त्यहाँबाट हिँडेको आरोप छ।

घटनालगत्तै परिचालित प्रहरी टोलीले संलग्न व्यक्तिहरूको खोजी थालेको थियो। सोही क्रममा यादवका भतिजा १९ वर्षीय विक्रमकुमार यादव र भारतीय नागरिक तथा उनका भान्जा २१ वर्षीय प्रियांशु यादव पक्राउ परेका छन्। उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन जिल्ला अदालत सर्लाहीबाट आठ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार घटनापछि फरार रहेका अशोक यादवको खोजी कार्य जारी छ। मङ्गलबार ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली कविलासी नगरपालिका–१० सलेमपुरस्थित उनको घरमा पुगे पनि उनी फेला परेनन्। घरमा खानतलासी गर्दा समेत यादव नभेटिएपछि प्रहरी टोली फर्किएको थियो।

प्रहरीले सरकारी कामकारबाहीमा अवरोध पुर्‍याएको तथा प्रहरीमाथि हातपात गरेको आरोपमा यादवको खोजी तीव्र बनाएको जनाएको छ।
उता यादवले भने सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै आफू अन्याय, अत्याचार र भ्रष्टाचारविरुद्ध बोल्दै आएकै कारण प्रशासनले नियोजित रूपमा फसाउन खोजेको दाबी गरेका छन्।

विवादसँग उनको नाम जोडिएको यो पहिलो घटना भने होइन। गत वर्ष मलङ्गवास्थित पूर्वाधार विकास कार्यालयमा कर्मचारीमाथि हातपात गरेको आरोपमा उनी चर्चामा आएका थिए। त्यसअघि तत्कालीन सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कासँग दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका यादव करिब एक महिना हिरासतमा बसेपछि एक लाख ६० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *