सामाजिक फीड–
जनकपुरधाम, जेठ २७ गते ।
पाकिस्तानले मंगलबार राति अफगानिस्तानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। तालिबान सरकारका अनुसार उक्त आक्रमणमा १३ जनाको मृत्यु भएको छ, जसमा ११ बालबालिका, एक महिला र एक वृद्ध व्यक्ति रहेका छन्। साथै १४ जना महिला घाइते भएका छन्।
तालिबान सरकारका प्रमुख प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानले अफगानिस्तानको हवाई क्षेत्र उल्लंघन गर्दै कुनार, खोस्त र पक्तिका प्रान्तमा सर्वसाधारणका घरहरूलाई लक्षित गरी बमबारी गरेको आरोप लगाएका छन्। उनले आक्रमणमा घाइते भएकाहरूका तस्बिरसमेत सार्वजनिक गरेका छन्।
यद्यपि, पाकिस्तानले यस घटनाबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। पछिल्लो समय पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। दुवै देशका सीमा क्षेत्रमा विगत केही महिनादेखि पटक-पटक गोलीबारीका घटना भइरहेका छन्।
यसैबीच, मंगलबार नै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित एक सीमा चौकीमा भएको आक्रमणमा छ जना पाकिस्तानी सुरक्षाकर्मी मारिएका छन्। पाकिस्तानी अधिकारीहरूका अनुसार उक्त घटनामा आठ जना विद्रोही पनि मारिएका छन्। आक्रमणकारीहरूले सीमा चौकी नियन्त्रणमा लिन प्रयास गरेको बताइएको छ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।