सामाजिक फीड–
जनकपुरधाम, जेठ २७ गते ।
मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा बालबालिकामाथि हुने यौन हिंसाका घटनामा वृद्धि देखिएको बेला यस्ता अपराधमा बालकहरूको समेत संलग्नता देखिन थालेको छ। यसैक्रममा सप्तरी प्रहरीले १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार कञ्चनरूप नगरपालिका–८, कञ्चनपुर बेरियर चोकका एक बालकलाई पक्राउ गरिएको हो। कानुनी व्यवस्थाअनुसार आरोपित बालकको परिचय गोप्य राखिएको छ।
प्रहरी निरीक्षक विजय कार्कीले जेठ २३ गते बिहान करिब १० बजे आरोपित बालकले आफ्नै फुपुको घरमा पीडित बालिकामाथि जबरजस्ती करणी गरेको र त्यसपछि फरार भएको जानकारी दिनुभयो। घटनापछि पीडित बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो।
उनका अनुसार जाहेरीका आधारमा मुद्दा दर्ता गरी आरोपितलाई पक्राउ गरिएको हो। पक्राउ परेका बालकविरुद्ध थप अनुसन्धान अघि बढाइएको तथा सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
बालबालिकामाथि हुने यौन हिंसाका घटनासँगै यस्ता अपराधमा किशोर उमेर समूहका व्यक्तिहरूको संलग्नता देखिन थालेपछि अभिभावकीय निगरानी, विद्यालयस्तरीय सचेतना र समुदायको भूमिका प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ। बालअधिकारकर्मीहरूले सामाजिक सञ्जालको दुरुपयोग, यौन शिक्षाको अभाव र कमजोर सामाजिक निगरानीका कारण यस्ता घटनाहरू बढ्न सक्ने भन्दै सरोकारवाला निकायलाई थप संवेदनशील हुन आग्रह गरेका छन्।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।