Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ २७  गते ।

राम्रो रोजगारी, आकर्षक तलब र सुखद भविष्यको आशामा भारत पुगेका महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका १६ जना नेपाली श्रमिक भारतको हरियाणा राज्यमा बन्धक बनाइएपछि उद्धार गरिएका छन्। उद्धार गरिएकामध्ये पुरुष, महिला तथा बालबालिका समेत रहेका छन्।

आफन्त इण्डियाको सहकार्य, नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वय तथा इलाका प्रहरी कार्यालय बर्दिबासको पहलमा उनीहरूको उद्धार गरिएको हो। इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरु प्रसाद तिमिल्सिनाका अनुसार श्रम शोषणमा परेका उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा मुक्त गराइएको छ र नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको छ।

यसअघि पीडित परिवारले आफ्ना आफन्तलाई काममा लगाइए पनि श्रमअनुसार पारिश्रमिक नदिइएको, डर–त्रास देखाएर नियन्त्रणमा राखिएको तथा कुटपिटसमेत गरिएको भन्दै उद्धारको माग गरेका थिए। पीडितमध्येकी किरण सदाले टेलिफोनमार्फत आफूहरूलाई विभिन्न बहानामा नियन्त्रणमा राखेर दुर्व्यवहार गरिएको जानकारी परिवारलाई दिएकी थिइन्। उनीहरूले पठाएका कुटपिट र यातनासम्बन्धी तस्बिर तथा भिडियो सार्वजनिक भएपछि घटना बाहिर आएको थियो। उद्धार टोलीका सदस्य अशोक सदाका अनुसार काम गरेबापतको पारिश्रमिकसमेत भारतीय प्रहरीको पहलमा उपलब्ध गराइएको छ। पीडितहरूलाई डर, धम्की तथा यातना दिएर बन्धक बनाइएको बताइएको छ।

प्रारम्भिक विवरणअनुसार बर्दिबास–३ गौरीडाँडाका दिलिप परियारले राम्रो आम्दानी र सुविधा दिलाइदिने आश्वासन दिँदै गत चैत १३ गते उनीहरूलाई भारतको हरियाणा राज्यअन्तर्गत झज्जर जिल्लाको हेलन गाउँस्थित एक कुखुरा फार्ममा अन्डा सङ्कलन गर्ने कामका लागि लगेका थिए। तर त्यहाँ पुगेपछि उनीहरू श्रम शोषणमा परेको र बन्धक बनाइएको आरोप छ।

पीडितका आफन्तहरूले दोषीमाथि कानुनी कारबाही तथा उद्धारको माग गर्दै इलाका प्रहरी कार्यालय बर्दिबासमार्फत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए। बर्दिबास–१४ का वडा अध्यक्ष विजयकुमार महतोले आर्थिक रूपमा कमजोर नागरिकहरू रोजगारीको नाममा जोखिमपूर्ण अवस्थामा पर्नु दुःखद भएको भन्दै यस्ता घटनामा संलग्न व्यक्तिमाथि कारबाही हुनुपर्ने बताएका छन्। उद्धार गरिएका श्रमिकहरूलाई नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ भने घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *