सामाजिक फीड–
जनकपुरधाम, जेठ २५ गते ।
विवाद चर्किएपछि महोत्तरी र सर्लाही दुबै जिल्लाको राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । महोत्तरीमा दोस्रो सत्रको निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा विवादित पक्षबीच छलफल गराउँदा समेत सहमति नभएपछि अधिवेशन स्थगित गरिएको हो।
शनिबारदेखि जलेश्वरमा जिल्ला अधिवेशन सुरु भएकोमा दोस्रो दिन बन्दसत्रमा पनि दुई पक्षबीच सहमति हुन नसकेपछि अधिवेशन स्थगित गरिएको निर्वाचन संयोजक मनिषकुमार साहले जनाएका छन् । साहले जारी गरेको सूचनामा महोत्तरीका प्रतिनिधिसँग सल्लाह गरी तथा शान्ति सुरक्षालाई ख्याल गर्दै अर्को सूचना नभएसम्मका निम्ति अधिवेशन स्थगित गरिएको जनाइएको छ।
त्यसैगरि मतदाता नामावलीलगायतमा प्रक्रियागत त्रुटि भएकाले सर्लाहीमा अधिवेशन स्थगित गर्नु परेको निर्वाचन समितिले जनाएको छ । जिल्ला निर्वाचन संयोजक डा। जयप्रकाश महतोले मतदाता नामावली, पालिका अधिवेशनसम्बन्धी कागजात तथा निर्वाचित प्रतिनिधिहरूको विवरण अद्यावधिक गर्ने कार्य पूरा नभएकाले निर्वाचन प्रक्रिया स्थगित गरिएको जानकारी दिए ।
उनका अनुसार, पालिका अधिवेशनका आवश्यक कागजातहरू अपूर्ण छन् । निर्वाचित प्रतिनिधिहरूको विवरण केन्द्रीय डिजिटल पोर्टलमा प्रविष्ट हुन बाँकी छ ।
प्रदेश अधिवेशन जेठ २८ गतेका लागि तय भएकाले त्यसअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ । वर्तमान जिल्ला सभापति तथा सभापति पदका उमेदवार समेत रहेका सरोज बानियाँले पार्टीको आधिकारिक डिजिटल पोर्टलमा विवरण अद्यावधिक गर्ने क्रममा प्रक्रियागत त्रुटि भएको बताए । सर्लाही जिल्ला अध्यक्ष पदका लागि वर्तमान सभापति वानियाँ, कृष्णनन्दन यादव लगायतले उमेदवारी घोषणा गरेका छन् ।
सिरहामा पनि सहमतिबाट रास्वपा जिल्ला कार्य समिति चयन हुन सकेको छैन । यहाँ नयाँ कार्यसमिति चयन गर्नको लागि निर्वाचन हुन लागेको छ । सभापति पदमा तीनजनाले उमेदवारी दिएका छन् । हरिप्रसाद मैनाली, रामसोगारथ यादव र सुभाषकुमार यादवले सभापति पदमा उमेदवारी दिएका छन् । चार पदाधिकारीमा १७ जना र सदस्य पदमा २७ जनाले उमेदवारी दिएका छन् ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।