सामाजिक फीड–
जनकपुरधाम, जेठ २२ गते ।
जनकपुर सहित मधेश प्रदेशका बजारहरुमा व्यापक विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेको पाइएको छ । सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । अहिले व्यापारीले पाक्नुभन्दा अघिनै रूखबाट आँप टिप्ने र विषादी प्रयोग गर्ने क्रम चलिरहेको छ।
विषादी प्रयोग गरिएका आँप खाँदा स्वास्थ्य असर पर्ने जोखिम छ । भारतसितको खुला सीमाका कारण व्यापारीले सस्तोमा काँचो आँप नेपाल भित्र्याउने र विषादी हालेर पकाएर बेच्ने गरेका छन्। मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिएको रासायनिक पदार्थ कार्बाइड लगायतका विषादी प्रयोग गरेर सिजन अघावै पकाइएका आँप खुलेआम बिक्री वितरण हुँदा समेत नियामनकारी निकाय मौन बसेको छ ।
प्रशासन कार्यालय,नगरपालिका र उपभोक्ता हित संरक्षण मञ्चले बजारमा आकस्मिक अनुगमन तीव्र नबनाउँदा व्यापारीहरूले बढी नाफा कमाउन जनस्वास्थ्यमाथि खेलबाड हुँदा समेत कसैले आफ्नो काम,कर्तव्य पूरा नगरेको आरोप नागरिक समाजको छ ।
रौतहटको चन्द्रपुर अस्पतालका प्रमुख,डाक्टर सुभाष चौधरीले विषादीयुक्त वा कार्बाइड हालेर पकाइएको आँप खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्न जाने बताउँछन्। उनका अनुसार विषादी मिसाएको आँप खानाले झाडापखाला लाग्ने, जीउ चिलाउने, वान्ता हुने जस्ता समस्या देखिने विरामीको संख्या बढेको छ । विषादी हालेर पकाइएको फलफूल खाँदा पेट, कलेजोदेखि किड्नीसम्ममा असर गर्ने गरेको उनको भनाई छ ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।