सामाजिक फीड–
जनकपुरधाम, जेठ २२ गते ।
मधेश प्रदेशका आठवटै जिल्लामा आजबाट तीनदिन तातो हावा चल्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा आगामी तीन दिनसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
तातो लहरको प्रभावबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा बाहिर ननिस्कन, हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिइएको छ । मधेश प्रदेशमा पछिल्लो समय बढेको अत्याधिक गर्मीले मानिसको दैनिकी प्रभावित भएको छ । विशेषगरि घर बाहिर काम गर्ने मजदुरु एवं श्रमिक वर्ग तथा बालबालिका एवं वृद्ध गर्मीबाट सबैभन्दा प्रभावित भएका छन् । यसैबीच मधेश प्रदेशका दर्जनौ विद्यालयमा अत्याधिक गर्मीबाट विद्यार्थीहरु बेहोस भएर ढल्ने जस्ता स्वास्थ्य समस्याबाट समेत गुज्रिरहेको पाइएको छ ।
अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि महोत्तरीको गौशाला नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सबै विद्यालयको पठनपाठन पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला केही दिनदेखि निरन्तर बढिरहेको गर्मीले जनजीवन प्रभावित हुनुका साथै शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्ने अवस्था देखिएपछि बिदा दिने निर्णय गरिएको हो । आउँदो मंगलवारबाट मात्रै नगरपालिकाभित्र संचालनमा रहेका विद्यालयहरुमा पठनपाठन हुनेछ ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।