Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, जेठ २१  गते ।

काम गर्न गएका महोत्तरीका १६ जनालाई हरियाणा राज्यमा बन्धक बनाइएको घटना सार्वजनिक भएको छ । राम्रो रोजगारी, आकर्षक तलब र सुखद भविष्यको आशामा भारत पुगेका बर्दिबास नगरपालिका–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका उनीहरु बन्धक बनेका हुन् । बन्धक बनाइएकामध्ये पुरुष, महिला तथा बालबालिका समेत रहेका छन् । घटनापछि परिवारको बिचल्ली भएको छ । आफन्तको सकुशल उद्धारको माग गर्दै परिवारजनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि अहिलेसम्म कुनै ठोस समाधान नआएको उनीहरूको भनाइ छ ।
आर्थिक अभावका कारण रोजगारीको खोजीमा भारत पुगेका उनीहरू हाल सम्पर्कविहीनजस्तै अवस्थामा रहेको र उद्धारको पर्खाइमा रहेको परिवारजनले बताएका छन् ।

पीडितमध्येकी किरण सदाले टेलिफोनमार्फत आफूहरूलाई काममा लगाइए पनि श्रमअनुसार पारिश्रमिक नदिइएको, विभिन्न बहानामा नियन्त्रणमा राखिएको तथा डर–त्रास देखाएर कुटपिटसमेत गरिएको जानकारी दिएको परिवारले जनाएको छ । उनीहरूमाथि भएको भनिएको दुर्व्यवहारका केही तस्बिर र भिडियोसमेत प्राप्त भएको र त्यसले परिवारमा थप त्रास बढाएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासमा पीडित परिवारद्वारा दर्ता गरिएको निवेदनअनुसार बर्दिबास–३ गौरीडाँडाका दिलिप परियारले आकर्षक तलब र सुविधा दिलाइदिने आश्वासन दिँदै गत चैत १३ गते उनीहरूलाई भारतको हरियाणा राज्यस्थित झज्जर थाना अन्तर्गत हेलन गाउँमा रहेको एक कुखुरा फार्ममा काम गर्न लगेको उल्लेख छ । त्यसपछि उनीहरू समस्यामा परेको परिवारको दाबी छ ।

बर्दिबास–१४ का वडा अध्यक्ष विजयकुमार महतोका अनुसार पीडित परिवारले आफ्ना आफन्तको खोजतलास, उद्धार तथा घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बर्दिबासमार्फत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा निवेदन पठाएका छन् । उनले कमजोर आर्थिक अवस्थाका नागरिक रोजगारीको नाममा जोखिमपूर्ण परिस्थितिमा पर्नु दुःखद भएको बताउँदै उद्धारका लागि सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए ।

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरु प्रसाद तिमल्सिनाले घटनाबारे आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिँदै पीडितहरूको जीवन रक्षा र सकुशल उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *